मोटरसाइकल दुर्घटनामा कञ्चनपुरका युवकको मृत्यु
2021/01/28, 9:59
 
death

महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा मोटरसाइकललाई ट्रकले किच्दा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी एक महिला सख्त घाइते भएकी छन् ।

दुम्कीवासबाट बुटवलतर्फ जाँदै गरेको से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई ना ३ ख ४०९ नम्बरको ट्रकले किच्दा मोटरसाइकलमा चालक रमेश अर्यालको उपचारका क्रममा बुधबार राति अबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार मोटरसाइकल चालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ का प्रसन्न भनिने रमेश अर्याल (वर्ष ३३) थिए । उनले चलाएको मोटरसाइकलमा बसेकी पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ९ की तुलसी कँडेल (वर्ष २९) सख्त घाइते छिन् ।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । दुवै सगरमाथा इन्स्योरेन्समा काम गर्ने कर्मचारी हुन् । उनीहरु कार्यालयको काममा पोखरा पुगेर फर्किंदै गर्दा बुधबार राति दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

दाउन्नेको कच्ची सडकमा धुलो उडेका कारण पानी हालेर भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा बर्दघाट (पश्चिम तर्फ जाँदै गरेको) तर्फ जाँदै गरेको ट्रकले किचेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।