कोभिड १९ द्वारा सिर्जित तनावका लागि परामर्श पोडकास्टको अडियो श्रृङ्खला जारी
2021/01/28, 10:24
 
adio

युथ थिंकर्स सोसाइटी (वाईटीएस) ले “कोभिड १९ द्वारा सिर्जित तनावका लागि परामर्श पोडकास्ट“ को अडियो श्रृङ्खला जारी गरेको छ ।   वाईटीएसले संयुक्त राष्ट्र महिला नेपाल संगको सहकार्यमा सर्वसाधारणको मनोसामाजिक कल्याणका लागि सो अडियो श्रृङ्खला जारी गरेको हो ।

सीमान्तकृत समुदाय, महिला, वहिष्कृत समूह र युवाहरू लक्षित गरी उनीहरुको मानसिक समस्या सम्बोधन गर्दै उनीहरुमा पहुँच बढाउन पोडकास्ट श्रृङ्खला प्रसारण भइरहेको वाईटीएसले जनाएको छ । 

विभिन्न मानसिक तथा मनोसामाजिक विषय र समस्याहरुलाई सम्बोधन गरिएको सो श्रृङ्खलाका २० ओटा एपिसोड डिजिटल प्लेट फार्महरू र एफएम रेडियो स्टेशनहरू मार्फत सुन्न सकिने बताइएको छ । यो श्रृङ्खलाले मानसिक र मनोसामाजिक विषयसङ्ग सरोकार भएका समस्या र प्रश्नको जवाफ दिई परामर्श मार्फत व्यक्तिलाई मनोचिकित्सकीय समर्थन प्रदान गर्ने जनाइएको छ । 

वाईटीएसका अनुसार यस कार्यक्रममा मनोविज्ञहरुले लक्षित समूहबाट सङ्कलन गरिएको प्रश्नावलीमा रहेर उनीहरुको मानसिक स्वास्थ्यलाई प्रभाव पारेका समस्याहरुमा परामर्श प्रदान गर्दछन् । यी शृङ्खलाबद्ध एपिसोडहरू डिजिटल माध्यमहरू स्पोटिफाई, गुगल पोडकास्ट, एप्पल पोडकास्ट, साउन्ड क्लाउड, कास्टबक्स, वाईटीएस र वाईटीएस केयर्सको फेसबुक पेज मार्फत प्रसारण हुँदैछन् । 

त्यस्तैै यस कार्यक्रमलाई प्रदेश २ र सुदुरपश्चिम प्रदेशका स्थानीय भाषाहरु भोजपुरी, मैथिली, डोटेली र थारू भाषामा यहाँका एफएमहरुले साप्ताहिक रुपमा प्रसारण गरिरहेका छन् । सुदुरपश्चिम प्रदेशको दिनेश एफ.एम. र रेडियो सुदुर आवाजबाट यो कार्यक्रम प्रसारण भइरहेको छ ।