सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारमाथि  लगातार प्रहार, प्रतिपक्ष नरम र लचिलो, सत्तापक्ष कडा र चर्को 
2020/06/01, 9:49
 
sansad

मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको वर्षे अधिवेशनमा प्रदेश सरकारमाथि प्रदेश सभा सदस्यहरुले लगातार प्रहार गरिहेका छन् । मंगलबारदेखि आईतबारसम्म भएको संसद बैठकमा प्रदेश सरकारमाथि प्रश्न उठिरहेको हो । कडा रुपमा प्रस्तुत हुनुपर्ने र चर्को रुपमा आवाज उठान गर्नुपर्ने प्रतिपक्ष नरम र लचिलो रुपमा प्रस्तुत हुदैं आएको छ । तर आफ्नै पार्टीको दुई तिहाई बहुमत रहेको सरकारको बचाउ गर्दै नरम र लचिलो हुनुपर्ने सत्तापक्ष नै सरकार असफल भएको र केही काम गर्न नसकेको भन्दै कडा र चर्को रुपमा दैनिक प्रस्तुत भईरहेका छन् । 

प्रदेश सरकारमाथिको प्रहारको सिलसिला मंगलबारदेखि सुरु भएको हो । आफ्नै पार्टीको खोईरो खन्ने कुराको उठान सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले गरि दिए । प्रदेश सभाको छैठौं वैठकको सुरुवातमै पार्टीकै सचेतक तामाङले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले सरकारबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गर्दै प्रदेश सरकारलाई सचेत पारे । उनले जनतालाई प्रदेश सरकार भएको अनुभूति नै नभएको बताए । बैठकको पहिलो दिन पार्टीका सचेतक तामाङले सरकारको एक्लै आलोचना गरे । तर छैठौं संसद वैठकको दोस्रो दिन अर्थात वुधवार सत्तापक्ष पार्टीका प्रदेश सभा सदस्यहरु अझ आक्रमक रुपमा प्रस्तुत भए । वुधवार सभामा बोलेका प्रदेश सभा सदस्यहरु पुर्णा जोशी, लीलाधर भट्ट, मानवहादुर धामीले सरकारले केही पनि काम गर्न नसकेकोमा आक्रोस पोखे । 

सुदूरपश्चिम प्रदेश सभाको छैठौ अधिवेशनको तेस्रो वैठकमा सुदुरपश्चिम प्रदेश सभा सदस्यहरुले आफ्नै सरकारको खोईरो खन्ने ।  प्रदेश सभामा सत्तापक्षका लीलाधर भट्ट, पूर्णा जोशी, मानबहादुर धामी लगायतले कडा शव्दमा आफ्नै सरकारको आलोचना गरे । उनीहरुले सरकारका कामका साथै र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कालापानी क्षेत्रका बारेमा दिएको अभिव्यक्ती र अमेरिकन झण्डा भएको रुमाल रोस्टममा लगेकोमा विषयमा चर्को आलोचना गरे । 

उनीहरुले जनताका चाहना अनुसारका प्रदेश सरकारले काम गर्न नसकेको भन्दै आफ्नै पार्टीको सरकारलाई प्रश्न सोधेका छन । प्रदेश सभा सदस्य जोशीले वैठकमा आफ्नो धारणा राख्दै भनिन– ‘जहिले पनि चार “क” अर्थात कर्मचारी,कानून, कार्यविधि र कोरोनालाई दोष दिएर कहिलेसम्म सरकार उम्कने मिल्छ ? 
प्रदेश सभा सदस्य मानहादुर धामीले भारतबाट आएकाहरुलाई प्रदेश सरकारले एक छाक खाना मात्रै खुवाएको चर्चा गर्दै कोरोना सञ्चालन कोष कसरी परिचालन गरिएको छ ? भन्ने प्रश्न आफ्नै पार्टीको सरकारलाई सोधे । 

सत्तापक्षकै प्रदेश सभा सदस्य लीलाधर भट्टले सरकारले आफैले घोषणा गरेका काम पुरा नगरेको आरोप लगाए । प्रदेश सभा सदस्य भट्टले बुँदागत रुपमा सरकारका २४ वटा कमजोरी औल्याए । सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ । प्रतिपक्ष दल नेपाली काग्रेंस र जनता समाजवादी पार्टीले प्रदेश सरकार र उसको गतिविधिको विषयमा विरोध गरे पनि चर्को रुपमा भनेका छैनन् । तर सत्तारुढ पार्टीकै नेताहरु आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार खुईल्याउन लागेका छन ।

सुदुरपश्चिम प्रदेश सभाका सत्तारुढ सांसद महेश जोशीले सुदुरपश्चिम प्रदेश सरकार फेल भईसकेको बताए । विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य जोशीले सुदुरपश्चि प्रदेश सरकार पुरै असफल भईसकेको बताए । प्रदेश सरकारको गतिविधिले संघीय व्यवस्था नै डगमगाउने अवस्थामा पुगेको भन्दै प्रदेश सांसद जोशीले संघीय व्यवस्था ठीक होईन भन्ने अवस्थाको सिर्जना भएकोले प्रदेश सरकारलाई पुर्नगठन गर्न माग गरे । ’ प्रदेश सभा सदस्य जोशीले संसद बैठकमा भने—‘यो सरकार फेल भईसक्यो । यो सरकार असफल भईसक्यो । यो सरकार जनतालाई काम लाग्दैन । तत्काल यो सरकार करेक्सन हुनुपर्छ । मेरो जोडदार माग छ सभामुख महोदय यो सरकारको समिक्षा गर्दा धेरै तल छ । यो सरकारले गर्न सक्ने काम गरेन । पैसा भएर पनि गरेन । पैसा नचाहिने लाग्ने काम पनि गरेन् । सामाजिक काम पनि गरेन् ।  शासन व्यवस्थाको काम पनि गरेन् ।’ 

दैनिक रुपमा चलिरहेको प्रदेश सभाको वैठकमा नेकपाकै प्रदेश सभा सदस्यहरु आपत्ति र विरोध जनाईरहेका छन् । उनीहरु आफ्नै मन्त्री आफ्नै सरकार र आफ्नै नेताहरु प्रति आक्रोस पोखिरहेका छन् ।  प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले सरकारले अभिभावकको भुमिका निर्वाह गर्न नसकेको भन्दै टाउकोले पुच्छर हल्लाईरहेको संज्ञा दिईन् । ‘सवैसँग छलफल गरेर अगाडी वढेको भए यस्तो अवस्था आउने थिएन् । मन्त्री परिषदको वैठक गर्नु अघि, निर्णय गर्नुअघि छलफल गरेको भए सवै माननीयलाई जिम्मेवारी दिएको भए यस्तो अवस्था आउने थिएन् । तर प्रदेश सरकार चुकि हाल्यो । हाम्रा परिणामहरु दिन सकेनौ । मन्त्रीहरु विजी भए माननीयहरु खाली भए ।’ सासंद चौधरीले भनिन्–‘टाउको मात्रै लिएर हिड्ने परम्परागत शैली ढर्रा भयो । गृहमन्त्री, त्रिलोचन भट्टलाई फोन गरेर घचघचाएका छौं । सरकारलाई धेरै माननीयहरुले अनुरोध गरे आग्रह कसैको सुनुवाई नै भएन ।’

नेकपाकै सासंद शान्ति नेपालीले संकटको घडीमा प्रदेश सरकार सफल बनाउनका लागि गर्नुपर्ने काम नभएको बताईन् । प्रदेश सरकार संयमित हुने की नहुने ? सामान्य चाउचाउ पानी उपलब्ध गराउन सक्ने की नसक्ने ? सहायता कक्ष स्थापना गर्न सक्ने कि नसक्ने ? भनेर सरकारलाई प्रति प्रश्न गरिन् । सुदुरपश्चिम प्रदेश सभा सदस्य रतना थापाले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा काम गर्ने कुनै ईच्छा शक्ती नभएको बताए । उनले मुख्यमन्त्रीलाई काम गर्न गारो भए कुर्सी जोड्न आग्रह गरे । ‘मुख्यमन्त्रीको ईच्छा शक्ती नै छैन । सकिन्न गारो हुन्छ भने छोड दिने हो । १० किलो वोक्न सक्ने क्षमता छ भने ५० किलो वोकाई दियो भने छोड्ने हो छोड दिए हुन्छ । हामी पनि वसिरहेका केही पनि गरिरहेका छैनौ । नुनको पनि सोझो गरिरहेका छैनौ ।’ थापाले संसदमा भने–‘काम गर्नलाई ईच्छा शक्ती चाहिन्छ । गर्नलाई सवै छ, पैसा पनि छ । ईच्छा शक्ती नै छैन भने यो सरकारलाई के गर्ने हिलोमा गाड्ने की खोलामा लैजाने ? मुख्यमन्त्री भाषण सुन्न पनि आउनु हुन्न हामीले वोलेको सुन्नु हुन्छ की सुन्नु हुन ।’

कुर्सीमा बसेर काम नगर्नेहरु बलात्कार लगायतका जघन्य अपराध गरेकोभन्दा ठुलो अपराध भएको नेकपा कैलालीका अध्यक्ष समेत रहेका थापाले जिकिर गरे । ‘मैले पहिले देखि भन्दै आएको छु, कुर्सीमा बसेर काम नगर्नेहरु बलात्कार हत्या भन्दा पनि ठुला अपराधी हुन् । सांसदले सरकारले केही गरेन भन्ने । मन्त्रीले जवाफ दिने यसले मात्रै हुदैंन । हामीले भाषण सुनेर बस्ने ।’– थापाले भने । 

सुदूरपश्चिमेली जनताले प्रदेश सरकार हराएको भन्ने टिप्पणी गरिरहेको चर्चा संसदसम्म पनि पुग्यो । सासंदहरुले संसदमा भने– ‘अन्य मुलुकका सरकार प्रमुख, मुख्यमन्त्रीहरू कोरोना महामारीमा आफना जनतालाई हौसला प्रदान गर्न विभिन्न गतिविधि गरिरहेका छन् । हाम्रा मुख्यमन्त्री सदनमा समेत अनुहार देखाउँदैनन् । सदनबाट उनको सम्बोधनले पनि जनतामा केही हौसला मिल्थ्यो । हाम्रा मुख्यमन्त्री कहाँ छन् ? नेकपाकै संसदहरुले सच्चिन पटक पटक सरकारलाई आग्रह गरिरहेका छन् । उनीहरुले संसदमै चुनौती पनि दिदै आएका छन् । सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले चेतावनी दिए– ‘सरकारले आम जनतालाई जसरी अनुभुति हुने गरी काम गर्नुपर्ने थियो, भएन । समयमै सचेत बन्नुुस, नत्र अप्ठ्यारो हुन सक्छ ।’