उपमहानगरपालिकाका कर्मचारीलाई गाई मारेको मुद्दामा जेल सजाय
2021/01/29, 4:25
 
dd

गौवध मुद्दामा उपमहानगरपालिकाका  कर्मचारीलाई जेल सजाय तोकिएको छ । सुर्खेत जिल्ला अदालतले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित दश जनालाई अजेल सजाय तोकेको हो । २०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई, गोरुहरु दैलेख लैजाने क्रममा सुर्खेत कटकुवाको भीरबाट खसालेर मारिएको थियो । ८ वटा ट्रकमा लगिएका २ सय ९१ मध्ये अन्य गाई, गोरु, बाच्छारबाच्छी जंगलमै अलपत्र छाडिएका थिए ।

अदालतले नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई डेढ वर्ष जेल सजाय तोकेको छ भने नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष कैद तोकेको छ । यसैगरी नगर प्रहरी जवानहरु सुवर्ण तारामी मगर, कमल बयक, सुशान्त शाही र चन्द्रबहादुर रानालाई ६ महिना जेल सजाय तोकिएको छ । नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई ३ महिना जेल तोकिएको छ । 

मुद्दामा प्रतिवादी रहेका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । गाई ओसार्नको लागि ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसीले सफाइ पाएका हुन् ।