सुदूरपश्चिममा लागुऔषधको बढ्दो कारोबार, ६ महिनामा ९० जना पक्राउ 
2021/02/02, 10:50
 
da

पछिल्लो ६ महिनायता लागु औषध कारोबारमा वृद्धि आएको छ । प्रहरीले देशभर ६ महिनामा एक हजार ६ सय हाराहारी लागुऔषध सम्बन्धी अपराधमा संलग्नलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशमा मात्रै ९० जनालाई लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांक अनुसार देशभर साउनदेखि पुससम्म १५ सय ९० जना लागु औषध कारोबारी पक्राउ परेकोमा सुदूरपश्चिम प्रदेशका ९० जना रहेका हुन् ।  पक्राउ परेका मध्ये ८५ जना पुरुष छन भने ५ जना महिला रहेका छन् । त्यसमा पनि ३ जना भारतीय पुरुष रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकमा उल्लेख गरिएको छ । 

पछिल्लो साउनदेखि पुससम्म पक्राउ परेका ९० जना मध्ये ५९ जनाको मुद्धा चलिरहेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार सुदूरुपश्चिम बाहेक प्रदेश १ बाट तीन सय ३०, प्रदेश २ बाट चार सय तीन, बाग्मती प्रदेशबाट एक सय १७, गण्डकी प्रदेशबाट एक सय ७९, लुम्बिनी प्रदेशबाट दुई सय ५४ र कर्णाली प्रदेशबाट ४७  जना पक्राउ परेका छन् । 

उनीहरू गाँजा, चरेस, हेरोइन, अफिम र कोकिनको सेवन र ओसारपसारमा संलग्न पाएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट दुई हजार सात सय ५३ किलो गाँजा, दुई सय ४९ किलो चरेस, एक किलो हेरोइन र एक सय ९० किलो अफिम बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता डीएसपी फणिन्द्र प्रसाई केही समयता लागु औषध प्रयोगकर्ता र कारोबारीको संख्या बढेको बताउँछन् । ‘कोभिडले गर्दा विगतमा लागूऔषध कारोबार कम भएको थियो ।’ उनी भन्छन्, ‘तर, हाल लागुऔषध कारोबार र प्रयोगमा वृद्धि आएको छ ।’ लागुऔषध कारोबार कम गर्नका लागि बोर्डर एरियामा अपरेसन बढाएको उनी बताउँछन् ।

कारोबारमा २० देखि ३५ वर्ष उमेरका व्यक्तीहरूको सबैभन्दा बढी संलग्नता देखिएको डीएसपी प्रसाई बताउँछन् । ‘यसमा एकथरी प्रयोगकर्ता र अर्को थरी कारोबारी हुन्छन् ।’ उनी भन्छन्– ‘प्रयोगकर्ता २० देखि ३५–४० वर्षका रहेका छन् भने कारोबारीको उमेर २५ देखि ४०–४५ वर्षभित्र रहेको छ ।’