सुदूरपश्चिमका ४३ जना कोरोना संक्रमित कुन जिल्लाका कति , कति निको, कति उपचारमा ? (भिडियाे सहित)
2020/06/01, 5:50
 
sup

सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४३ पुगेको छ । त्यसमा सवैभन्दा वढी कैलाली जिल्लाका रहेका छन । कैलाली जिल्लामा यसअघि १३ जना संक्रमित रहेकोमा आज नयाँ १४ जना थपिएसँगै २७ जना पुगेका छन् । 

उनीहरुमध्ये १२ जना गौरीगंगा नगरपालिकाका, ७ जना जानकी गाउँपालिकाका, चार जना धनगढी उपमहानगरपालिका, दुई जना लम्की चुहा नगरपालिका एक एक जना बर्दगोरिया र भजनी नगरपालिका संक्रमित रहेका छन् । कैलालीमा सुरुवातका ४ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन् । कैलालीपछि बैतडीमा ७ जना कोरोना संक्रमित भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका बैतडीको शिवनाथ गाउँपालिकाका एक जना संक्रमित छ ।

उनी संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडी भारतबाट फर्किएका थिए । त्यसैगरी बैतडीको शिवनाथ गाउँपालिकामा ४ जना संक्रमित पुष्टि भएका छन् । गाउँपालिकाको वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । आज मात्रै पुष्टि भएका बैतडीका संक्रमित पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष हुन् । 

अछाममा संक्रमितको संख्या ४ जना पुगेको छ । अछामको मेल्लेख गाउँपालिकामा दुई जना, आज मात्रै देखिएका पुरुष चौरपाटी गाउँपालिका रहेका छन् । मेल्लेख गाउँपालिकाकै ३२ बर्षीय पुरुष भने बेलम्बु कोभिड १९ अस्पतालमा उपचार गरेर डिस्चार्ज भएका छन । बाजुरामा पनि दुई जनामा संक्रमित भेटिएका छन् । त्यसमा एक जनाको मृत्यु भएको छ भने एक जना उपचाररत छिन् । दुवै जना बाजुराको वुढीगंगा नगरपालिका हुन् । कञ्चनपुरमा पनि दुई जना संक्रमित पुगेका छन् । आज मात्रै कञ्चनपुरका संक्रमित शुक्लाफाँटा नगरपालिकाकी ११ महिनाका बालक हुन् । यसअघि वेतकोट नगरपालिकाका एक पुरुष संक्रमित भएकोमा उनी कोरोना जितेर घर फर्कि सकेका छन् । 

त्यसैगरी डडेल्धुरा, दार्चुला र बझांगमा एक एक जना संक्रमित पुष्टि भएका छन् । डडेल्धुरामा एक जना संक्रमित भेटिएकोमा उनी आज मात्रै कोरोनालाई जितेर घर फर्किएका छन् । दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय युवकमा कोरोना पुष्टि भएपछि उनी उपचारत छन । डोटीमा आज मात्रै एक जना संक्रमित देखिएका छन । बझांगका एक जनाको भने सुर्खेतमा उपचार भईरहेको छ ।