लघुकथा: परिक्रमा 
2021/02/06, 9:25
 
laxmi

लक्ष्मीप्रसाद पौडेल-   उसले दुई हात जोरेर मन्दिरको दुई परिक्रमा गर्यो। हिड्ने बेला बाबुले भनेका थिए, "रोग र भोगका शत्रु धेरै छन् । तीन फेरा घुम्नु नि, " उसले सम्झ्यो । थप एक फेरा घुमेर बाबुको वचन राख्यो । ऊ यात्रामा अघि बढ्यो ।

देश सत्ता युद्धको अन्तिम संघर्षमा थियो । ऊ  परिवर्तित दिक्षाको अन्तिम युद्धमा थियो । मुखमा कोरोना पट्टीको परिचय बोकेका तीन जना उसको कोठाभित्र प्रवेश गरे । " यो बुर्जुवा सामन्ती सत्ताको कुनै उपादेयता र  प्रयोग छैन । व्यवस्था परिवर्तन भए पनि व्यवसायिक सरकार  लागू भएन । हामीमा आर्थिक क्रान्तिको कमी  छ ।  विकल्प खोजौं, आउनुस मोर्चावन्दी गरौं ।" कोठामा प्रवेश गर्नु, उनीहरूको उद्देश्य अनुरुप सत्ता शिक्षा अभियानमा वहस चलाए । ऊ सहमत भयो ।

दरवार जत्रो निम्नवर्गीय घर सुसज्जित थियो । उसको परिचय गराइयो, क• सिद्धान्त । उसले आफ्नो नामको नवीकरणमा मुठ्ठी कस्यो । आदेश बमोजिम तीन फेरा परिक्रमा गर्यो । "घरका बा नबोल्ने, सुनी मात्र रहने मुर्तीको परिक्रमा गराउँथे। यता कुर्ची पुनः निर्माण  कारखानाको परिक्रमा गराईरहेछन् । परिक्रमा नै प्रमुख रहेछ । " उसले बुझ्यो ।

द्वारको मुख्यद्वारमा आशिर्वादहरू पंक्तिबद्ध थिए । ऊ पनि लाइनमा जोडियो ।  केही उसकै लहरका थप पात्रले ऊ झन् तररंगित भयो। उनीहरू ऊ मध्येकै थिए, ठम्याउन समय खर्चनु परेन । एउटाले कानैमा भन्यो,   " मन्त्री नियुक्त हुन लाग्नु भएकोमा बधाई छ कमरेड, परिक्रमा यात्राले  निरन्तर सफलता पावस् । शुभकामना ।" 

लगत्तै घरमा बालाई फोन लगायो । " बा ! ६ फेरा परिक्रमा लगाए म प्रधानमन्त्री हुन्छु ? "

 धनगढी , कैलाली ।