सुदूरपश्चिम प्रदेश सरकारका नियमित कामकाज नै तीन वर्षे उपलब्धी !
2021/02/19, 11:35
 
book

सुदूरपश्चिम प्रदेश सरकारको प्रगति विवरण सार्वजनिक गरिएको छ । प्रदेश प्रमुख सर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तक लोकार्पण गरे ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष, प्रमुख उपलब्धीहरु नाम दिइएको सो पुस्तकमा प्रदेश सरकारका सात वटै मन्त्रालयहरुले तीन वर्षमा गरेका कामहरुको विवरण समावेश गरिएको छ । साथै प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ ।

तर प्रदेश सरकारले आफ्नो पहिलो बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा नियमित कामकाजलाई मुख्य उपलब्धी मानेको छ । प्रदेशको नाम र राजधानी घोषणा बाहेक अन्य प्रक्रिया अगाडी बढ्न नसकेको अवस्थामा प्रदेश सरकारको सबैभन्दा ठुलो उपलब्धी त्यसलाई नै मानिएको छ ।

अधिकांश जनताहरु सरोकार राख्ने कामहरु गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना भईरहदा पनि प्रदेश सरकारले भने तीन बर्षमा धेरै काम गरेको पुस्तक प्रकाशन गरेरै दावी गरेको छ । 

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भएपनि त्यसको परिणाम आउन समय लाग्ने बताए । उनले देशमा ढिलासुस्ती गर्ने प्रवृत्ति पहिलेदेखि नै रहेको हुनाले प्रदेश सरकारलाई त्यसलाई चिर्दै अगाडि बढ्न निकै कठिन भएको बताए । 

3