सुदूरपश्चिममा एक बर्षमा पाँच सयभन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्रको तथ्यांक अनुसार सन् २०२० मा ५ सय १७ वटा मानव अधिकार हननका घटनाहरु भएका हुन् ।
ईन्सेकले गरेको अभिलेख अनुसार सन २०२० मा सुदूरपश्चिममा ५ सय १७ मानव अधिकार उल्लघनका घटनाहरुमध्ये गिरफ्तार ४० कुटपिट २७ बाल अधिकार ८२ हिरासतमा मृत्यु २ जेलमा मृत्यु ३ आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको एक घाइते ३ हत्या ४० जातिय विभेद ७ अभिव्यक्ति, भेला तथा संङ्गठित हुने अधिकार १ र महिला अधिकारका ३ सय ११ घटना भएका छन् । सन् २०१९ मा ७ सय ९८ वटा घटना भएका छन ।
सन् २०१८ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ सय ६४ जना पीडित भएका थिए । नागरिकको मर्यादा र सार्वभौम अधिकारप्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकार सँग सम्बन्धित घटना र सूचना प्रकाशन गरिएको अनौपचारिक सेवा केन्द्रका सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले जानकारी दिए ।
ईन्सेक सुदूरपश्चिम प्रदेशले धनगढीमा शुक्रवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक समेत गरेको छ । केन्द्रदेखि प्रदेशसम्म एक साथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रवार धनगढीमा पनि सार्वजनिक गरिएको हो । अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको २९ वर्ष पुरा भएको छ ।