कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैया स्थित एक स्थानीय किसानको बारीमा बाघ देखिएको छ। अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ देखिएको छ ।
किसान टीकाराम चौधरीले घरसँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिएको जानकारी दिए। फागुन ३ गते अन्डैयाकी २५ वर्षीया कला धामीमाथि आक्रमण गरि बाघले ज्यान लिएको थियो।
३० गते जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो।
पछिल्लो २ साता यता कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकास्थित सामुदायिक वनमा बाघ देखिदै आएको छ। नरभक्षी बाघ नियन्त्रणको लागि वन र स्थानीय प्रशासनले प्रयास थालेपनि अझैसम्म नियन्त्रण भने गर्न नसकेको हो।
भारतको दुधुवा नेश्नल पार्क सँग जोडिएको वसन्ता कोरीडोरस्थित ती सामुदायिक वनमा एक भन्दा बढी बाघ देखिएको बताइएको छ।