घोषणाको २५ बर्षपछि प्रधानमन्त्री ओलीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास
2021/02/22, 2:41
 
chhella

प्रधानमन्त्री केपी शर्मा ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । औद्योगिक क्षेत्र घोषणा भएको र पहिलो पटक बजेट विनियोजना भएको २५ बर्षपछि कञ्चनपुरको बेदकोट नगरपालिका पुगेर प्रधानमन्त्री ओलीले दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो । घोषणाको २५ बर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास भएपछि स्थानीय उत्साहित छन् ।

नौँ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी औद्योगिक क्षेत्रको निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि यसै बर्ष वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएको थियो ।

औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजागरी पाउने दावी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

लिमिटेडका अनुसार नौँ सय विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएकोमा पहिलो चरणमा चार सय विघा क्षेत्रफलमा स्थापना गरिनेछ । सो क्षेत्रफलमा एक सय बढि उद्योग खोल्न सकिनेछ ।