एक बर्षपछि बोलाईएको संसदीय दलको बैठकमा सुदूरपश्चिमका मुख्मन्त्री भट्टले माफी मागे
2020/06/02, 5:59
 
trilochan bhatta

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले सदनमै सरकारको विरोध गर्न थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार संसदीय दलको बैठक राखे । दलको बैठक शुरु गर्दै मुख्यमन्त्रीले सरकार सञ्चालनमा पार्टीको संसदीय दल सित समन्वय गर्न नसकेकोमा माफी मागेका छन् । पूर्वबजेट छलफलका क्रममा सदनमै सरकारको चर्को विरोध गर्दै मुख्यमन्त्रीले काम गर्न नसकेकोले राजीनामा दिनुपर्ने भन्दै नेकपाका प्रदेश सभा सदस्यहरु बोल्न थालेपछि मुख्यमन्त्री तथा दलका नेता भट्टले एक बर्षपछि दलको बैठक बोलाएका हुन् ।

बैठकमा सबै प्रदेश सभा सदस्यहरुले बोल्ने पालो नपाएपछि बुधबार बिहान फेरी बस्ने गरी स्थगित भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री भट्ट निकै रक्षात्मक देखिएको बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बताए । बैठकमा सहभागी ती प्रदेश सासंदका अनुसार मुख्यमन्त्रीले शुरुमै झण्डै अढाई बर्ष सरकार चलाएको र यस अवधिमा पार्टी र संसदीय दलसित समन्वय हुन नसकेकोमा क्षमा मागेका थिए ।

आगामी दिनमा दल सितको समन्वयलाई जोड दिइने र दलकै सल्लाह अनुसार सरकार चलाउने उनको प्रतिबद्धता थियो । बैठक शुरु हुनु अघि नै दलका सदस्यहरुको मनोविज्ञान बुझेका मुख्यमन्त्रीले आफ्नो र सरकारको चर्को विरोध हुने देखेपछि रक्षात्मक बन्ने रणनीति अपनाएका हुन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य बीरमान चौधरीले सरकारका पछिल्ला गतिविधि सन्तोषजनक नदेखिएको र दलमा सल्लाह नगरी आफु खुशी जाने चाहना राखे सरकार परिवर्तन समेत हुन सक्ने चेतावनी दिए ।

दलको मंगलबारको बैठकमा बोलेका १२ जना प्रदेश सांसदहरुले सरकारको समीक्षा गर्न ढिलो भईसकेको बताएका छन् । मंगलबार प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, बिषयगत समितिका सभापतिहरु नेपालु चौधरी, हर्क बहादुर कुँवर र कुन्ती जोशी र प्रदेश सांसद लिलाधर भट्ट लगायतले बोलेका थिए ।

प्रमुख सचेतक तामाङले अरु बेला जे सुकै भए पनि विपद आई लागेको बेलामा समेत सरकारले जनताले देख्ने गरी काम गर्न नसकेकोले समिक्षा गर्न जरुरी रहेको बताए । सचेतक अक्कल रावल रावलले सरकारको कामले आफुहरुलाई जनतामा जान गाहे परेकोले विकल्प खोज्नुपर्ने अवस्था आएको बताए । मंगलबारको बैठकमा बोल्ने सबैले सरकारको विरोध गरेका छन् ।

सांसद लिलाधर भट्टले आफैले घोषणा गरेका कार्यक्रम समेत कार्यान्वयन गर्न नसक्ने अवस्था आउँदा पद ओगटेर बस्नु भन्दा छोड्नु उपयुक्त हुने बताए । संसदीय दलको बैठक पहिलो पटक पार्टीका नेताहरुको उपस्थिति बिना नै बसेको छ ।

यस अघिका हरेक बैठकमा पार्टीका प्रदेश इञ्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, सह इञ्चार्ज लक्ष्मण जोशी र प्रदेश अध्यक्ष कर्णका थापाको उपस्थितिमा मात्रै हुने गर्थे । सरकारको विरोध वा समर्थनमा बोल्ने सांसदहरुले बैठकमा सहभागी नेताहरुक आँखाका इशारा अनुसार बोल्ने गरेकोमा यस पटक स्वतन्त्र रुपमा बोल्न पाएको एक प्रदेश सभा सदस्यले बताए ।