सुदुरपश्चिमका ७३ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ? (जिल्लागत विवरण सहित)
2020/06/02, 7:36
 
korona

सुदुरपश्चिमका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र धनगढीको प्रयोगशालामा गरिएका परिक्षणमा नयाँ कोरोना संक्रमित थप भएका हुन् । आज थपिएकामा मध्ये सवैभन्दा वढी कैलालीका १० जना रहेका छन । त्यसैगरी अछामका ९ र कञ्चनपुरका ८ जना रहेका छन् । कैलालीका ३३ संक्रमित मध्ये सवैभन्दा वढी गौरीगंगा नगरपालिकाका १३ जना रहेका छन् । सोमबार त्यहाँका ८ जनामा कोरोना पुष्टि भएकोमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा मालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै टीकापुर नगरपालिकामा पनि आज नै ४ जनामा संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिनमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । टीकापुरसँगै जोडिएको जानकी गाउँपालिकामा पनि ८ जना कोरोना संक्रमित रहेका छन् । त्यहाँको सरस्वती माविको एउटै  क्वारेन्टाईनमा रहेका ७ जनालाई कोरोना भएको थियो । उनीहरुको टीकापुर अस्पतालमा उपचार भईरहेको छ । 

आज नै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिनमा रहेका ३२ बर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ आएको छ । सोमवार पनि धनगढी उपमहानगरपालिका वडा नम्बर १० का एक पुरुषमा कोरोना देखिएको थियो । योसँगै धनगढी उपमहानगरपालिकामा ४ जनामा कोरोना देखिएको छ । गत चैत १४ गते दुवईबाट आएका युवक र उनकी भाउजु भने कोरोनालाई जितेर घर फर्किएका छन् । 

यता लम्की चुहा नगरपालिकामा पनि दुई जनामा कोरोना देखिएको थियो । एक युवक र एक महिला कोरोनालाई जितेर घर फर्किसकेका छन् । यसैगरी जिल्लाको बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा पनि एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरुको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । 

उता कञ्चनपुरमा पनि १० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा ८ जना आज मात्रै थपिएका हुन् । आज मात्रै कञ्चनपुरको पुर्नवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसअघि शुक्लाफाटामा एक बालक र वेतकोटमा एक पुरुषलाई कोरोना भएको थियो । वेतकोटा पुरुष निको भएर घर फर्किसकेका छन् । उता अछाममा संक्रमितको संख्या १३ पुगेको छ । आज सुर्खेतको प्रयोगशालामा परिक्षण गरिएका नमुना मध्ये ९ जना अछामका व्यक्तीमा कोरोना पुष्टि भएको हो ।

आज मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटका दुई वटा क्वारेन्टाईमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा गए राति कोरोना पुष्टि भएको हो । यस्तै कोरोना पुष्टि हुनेमा अन्य ७ जना पुरुष रहेका छन । २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष रहेका छन । उनीहरु सवै भारतबाट ९ गते कुष्कोट पुगेका थिए ।  यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी एम्बुलेन्स चालक रहेको बुझिएको छ ।

त्यस्तै डोटीमा ५ जना संक्रमित पुगेका छन् । सोमवार मात्रै दुई महिला र तीन पुरुष सहित ५ जनामा कोरोना पुष्टि भएको हो । उता वैतडीमा पनि ६ जना पुरुष संक्रमितको उपचार भईरहेको छ । एक जना थुनुवाको वैतडी जिल्ला अस्पतालमा र ५ जनाको सेती प्रादेशिक अस्पतालमा भईरहेको छ । वैतडीका ६ जना नै भारतबाट आएका हुन् । 
बाजुरामा पनि तीन संक्रमित रहेका छन् । त्यसमा एक बालिकाको मृत्यु भएको छ भने एक महिला संक्रमित रहेकी छन् ।

उनीहरुको बाजुरामै उपचार भईरहेको छ । एक जना वाजुराका पुरुषको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । त्यसैगरी वझांग, डडेल्धुरा र दार्चुलामा एक एक जना संक्रमित रहेका छन् । त्यसमा डडेल्धुराका संक्रमित निको भएर घर फर्किएका छन् । वझाङका संक्रमितको पनि कर्णाली प्रदेशमा उपचार भईरहेको छ । दार्चुलाका संक्रमितको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ ।