पुस्तौदेखि कैलालीमै रहँदै आएको छ बाघ
2021/02/25, 11:03
 
tiger

फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको पाटेबाघका कारण मृत्यु भएपछि साँच्चै यो बाघ कहाँबाट आयो भन्ने कौतुहलता जाग्न थालेको छ । धेरैले पाटेबाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको हुनसक्ने अनुमान लगाउन थालेका छन् भने एकथरीले वर्षौदेखि कैलालीकै राष्ट्रिय तथा सामुदायिक वनमा पनि बाघ रहँदै आएको दावी गर्न थालेका छन् । तर, यसैबीच कैलालीमा पुस्तौदेखि बाघ रहँदै आएको संरक्षणकर्मीहरुले बताएका छन् ।

‘गौरीगंगाको अण्डैयामा बाघको आक्रमणबाट मानिसको मृत्यु भएपछि भने बाघ कहाँबाट आएको होला भन्ने सबैले आ–आफ्नो तर्क गर्न थालेका छन्,’ सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा भन्छन्,‘तर, बाहिरबाट आएको नभई कैलालीमै वर्षौदेखि बस्दै आएको बाघ घुम्दै सिकारको खोजीमा पुस्तौनी बाटोमै फर्केको हो ।’

आहाराको खोजीमा रहेको बाघ बसन्ता जैविक मार्गबाट सहायक मार्गहुँदै अण्डैया–तालबन्द–कान्द्रा राजघाट क्षेत्रमा आइपुगेको उनी बताउँछन् । ‘हामीकहाँ आइपुगेको बाघ भारतबाट नभई यहीँको जंगलमा वर्षौदेखि बस्दै आएको स्थानीय बाघ हो,’ उनले भने,‘बाघ जंगलमै रहने र आफ्नै एरियामा बस्ने भएकाले हामीले देखेका थिएनौ, तर यसपटक भने सिकारको खोजीमा पुस्तौनी बाटो भएर हिँड्दै गर्दा मान्छे मारेपछि भने बाहिरबाट आएको होला भन्ने अनुमान गरियो ।’

कैलालीको वसन्ता, राजघाट, अण्डैया, तालबन्द, डुडेझारी, बारावन र फलिया विसौनीमा बाघ पुस्तौदेखि बस्दै आएको उनी बताउँछन् । ‘यो क्षेत्र बाघको बासस्थान हो,’ उनले भने,‘तर यहाँ मानिसले नदेखेका कारण बाहिरबाट आएको हुनसक्ने अनुमान लगाए, त्यसो होइन ।’ बाघ कैलालीकै राष्ट्रिय र सामुदायिक वनमा वर्षौदेखि बस्दै आएको उनी ठोकुवा गर्छन् ।

पछिल्लो समयमा बाघ बस्ती नजिक देखिन थालेपछि भारतको दुधुवा नेसनल पार्कबाटै आएको हुनसक्ने आँकलन गरिन थालेपछि पुस्तौदेखि कैलालीकै जंगलमा बाघ बस्दै आएको संरक्षणकर्मीहरु जिकिर गर्छन् ।  

पछिल्लो समयमा बाघ बस्ती नजिकमा देखिन थालेपछि भारतको दुधुवा नेसनल पार्कबाटै आएको हुनसक्ने आँकलन गरिए पनि पुस्तौदेखि कैलालीकै जंगलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत अर्का संरक्षणकर्मी विजय श्रेष्ठ बताउँछन् । ‘यो बाघ बाहिरबाट आएको नभई कैलालीकै बसन्ता क्षेत्रको बाघ हो,’ उनले भने,‘सिकारको खोजीमा कहिले अण्डैया, तालबन्द पुग्ने बाघ यसपालि भने मानिसमाथि आक्रमण गरेपछि बाहिरबाट आएको भन्ने आशंका स्थानीयले पालेका हुन्, त्यो होइन ।’

राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा नेसनल पार्कमा मात्रै पाटेबाघ छन् भन्ने प्रमाण फेल भएको बताउँदै उनले भने,‘हामीले त वर्षौदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौँ, तर कसैले पनि पत्याएका थिएनन्, अहिले प्रष्ट भएको छ ।’  राष्ट्रिय निकुञ्जबाहेक कैलाली जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा वर्षौदेखि बाघ बस्दै आएको उनले दावी गरे ।

‘बसन्ता क्षेत्रका स्थानीयले वर्षौदेखि वनमा बाघ रहेको देखेका थिए,’ उनले भने,‘तर, तराई भूपरिधी कार्यक्रमले आफ्नो क्यामेरा ट्रयापिङमा बाघ नदेखेपछि भने पत्याएको थिएन ।’ अहिले अण्डैया क्षेत्रमा बाघको फोटो कैद गर्न क्यामेरा थापिएको भए पनि बाघ राजघाट क्षेत्रमा पुगिसकेको बताउँदै सापकोटाले भने,‘हामीले पुरानै क्षेत्रमा क्यामेरा ट्रयापिङ गरेका छौँ, तर, बाघ भने आज राजघाट क्षेत्रमा पुगिसकेको खबर पायौँ, तसर्थ बाघको फोटो अहिलेसम्म कैद हुन सकेको छैन ।’  

पछिल्लो समयमा चोरी सिकारी नियन्त्रण हुनु, वनको अवस्थामा सुधार हुनु र बाघका लागि खुर प्रजातिका वन्यजन्तुमा वृद्धि हुँदा बाघको ‘मुभमेन्ट’ बढेको संरक्षणकर्मी श्रेष्ठ बताउँछन् । ‘बाघलाई मनपर्ने आहारा खुर प्रजातिका (मृग, चित्तल, बँदेल, निलगाई) जस्ता वन्यजन्तु बढेकाले सिकारका लागि डुल्दै गर्दा मानिसले देखेपछि बाघ यहाँ रहेको पत्यार लागेको छ,’ उनले भने,‘तर यो बाघ बाहिरबाट आएको नभई यसै क्षेत्रको हो ।’  

चोरी सिकारी नियन्त्रण, वनको अवस्थामा सुधार आएसँगै पछिल्ला वर्षहरुमा बाघको संख्या पनि वृद्धि भएको उनी बताउँछन् । ‘चोरी सिकारी नियन्त्रण हुनु र वनमा आहारा प्रजातिका लागि प्रसस्त वन्यजन्तु बढ्नु नै बाघको संख्यामा वृद्धि हुनु हो,’ उनले भने,‘तसर्थ पनि बाघ आफ्नो एरिया बनाउन अर्को ठाउँमा बसाइँ सरेको हुनसक्छ ।’  नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै कैलालीकै एक वनबाट अर्को वनमा स्तान्तरण गरिरहेको हुनसक्ने उनी बताउँछन् ।

‘बाघको पुख्र्यौली बासस्थान कैलालीको वसन्ता करिडोरसँगै जोडिएको सहायक जैविक मार्ग मोहनपुर–अण्डैया–तालबन्द–राजघाट क्षेत्र भएकाले यो क्षेत्रमा बाघ बसोबासका लागि पनि आएको हुनसक्छ,’ उनले भने, ‘यो क्षेत्रमा बाघ पहिल्यै थियो, बीचमा बाहिर गएको बाघ पुनः घना जंगल र आहारामा वृद्धि भएपछि स्थायी बासस्थान खोज्दै फर्केको छ ।’

गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो । बाघको पुस्तौनी बाटो र सिकार क्षेत्र रहेकाले विचरण गर्दै यहाँ आइपुगेको बाघ केही दिनदेखि यतै बसिरहेको बताउँदै डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने,‘यो क्षेत्र बाघको पुस्तौदेखि बस्दै आएको ठाउँ हो, त्यही भएर पनि बाघ यहाँ घुमिरहन्छ ।’  

 सुदूरपश्चिममा १९ बाघ !

सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेको गणनाले देखाएको छ । बाघ गणना–२०१८ अनुसार सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगल (लालझाडी, वसन्ता करिडोर) क्षेत्रमा १९ वटा पाटेबाघ रहेका छन् । ‘बाघ गणनाअनुसार सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेका छन्,’ विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले भने,‘तिनै बाघ कहिले यता त कहिले उता आहाराको खोजीमा निस्केका हुनसक्छन् ।’ अण्डैया–तालबन्द–राजघाट क्षेत्र बाघको बासस्थानका लागि पुरानै ठाउँ भएका कारण पनि त्यहाँ बाघको ‘मुभमेन्ट’ हुनु नौलो कुरा नभएको उनी बताउँछन् । नागरिक दैनिकबाट साभार