सुदुरपश्चिममा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पनि कोरोना संक्रमण, स्वास्थ्य क्षेत्रमा कार्यरत त्रसित
2020/06/03, 7:32
 
korona

सुदुरपश्चिममा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पनि कोरोना संक्रमण भएको छ । मंगलबार देखिएका १८ जना मध्ये स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य क्षेत्रमा कार्यरतहरु त्रसित भएका हुन् । मंगलबार कञ्चनपुरका एक जना स्वास्थ्यकर्मी र अछामका एम्बुलेन्स चालकलाई कोरोना पुष्टि भएको हो ।

कोरोना नियन्त्रणका लागि काम गर्न स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले आनाकानी गरिरहेका वेला त्यही क्षेत्रमा कार्यरतहरुमा कोरोना पुष्टि भएपछि काम गरिरहेकाहरु पनि त्रसित भएका हुन् । एम्बुलेन्स चालकलाई कोरोना पुष्टि भएपछि चालकहरुले एम्बुलेन्समा विरामी तथा कोरोना संक्रमितहरु वोक्न पनि छोडेका छन । जस कारण कञ्चनपुरको पुर्नवास क्षेत्रमा मंगलबार मात्रै फेला परेका संक्रमितहरुलाई महाकाली अस्पताल लैजाने एम्बुलेन्स नहँुदा उनीहरुलाई क्वारेन्टाईनमै राखिएको थियो ।  

मंगलबार सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । धनगढी प्रयोगशालामा नयाँ पुष्टि भएका १८ जना संक्रमितहरु मध्ये एक जना स्वास्थ्यकर्मी रहेका थिए । कञ्चनपुरको पुर्नवासमा आज ७ जनामा संक्रमण पुष्टि भएकोमा ३६ बर्षीय स्वास्थ्यकर्मी रहेका थिए । उनले भारतबाट आएका नेपालीहरुको स्वाब संकलनसँगै त्यहाँ रहेकाहरुको चेकजाँच गरिरहेका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुर्नवासमा रहेको उनले काम गर्दै आएको मेडिकल समेत सिल गरिएको थियो । उनी आफै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका थिए । 

अछामबाट विरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सुर्खेतको प्रयोगशालाले जानकारी दिएको छ । थ्रोट स्वाबको नमूना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको थियो । चालक धनगढीमै छन् । उनी मात्र अछामबाट आईतबार बिरामी लिएर धनगढी आएका थिए ।