जीवनका कथाहरू जीवनसंगै विलाई जाने भए त, मरेपछि डुमै राजा भनेर ढुक्कै बस्नु हुन्थ्यो नि । पुस्तौ पुस्ताको पीर छ र पो त । फेरि “जिउ रहे घ्यु खान पाईन्छ“ भनेर पुर्खाले सिकाए । त्यै भएर बाँच्ने लालसाले छोडेकै छैन, आजका दिनसम्म पनि ।
“म शुन्यमा शुन्य सरि बिलाए ।“ महसुश हुँदा त बाँच्नु बेकारै हो जस्तो लाग्छ । जीवन के हो ? आजसम्म पत्तो नपाई बाँचेकै छु, अब पनि बाँच्नु नै छ । काल नआई मरिन्न क्यारे, आत्महत्या गर्ने आँट छैन ।
अँ, साँच्चै म जस्तै मर्ने आँट नभएका कति होलान है यो संसारमा ? जे होस फाईदै भएको छ, फोकटमा संसार देख्न पाइएको छ जो बाँचेर । “एकसरो जीवन त कुकुरले पनि पाल्छ ।“ केटा !, बाँच्नु छ भने सार्थक जिवन बाँच भनेर बुबाले भन्नुहुन्थ्यो । तर खै के पो सकिएला र, कुकुर बचाई हुने भयो आफ्नो । सायद मरण पनि त्यस्तै हुने पो हो कि ? खै शंका लाग्छ ।
जिवन चलेकै छ भनेर सन्तुष्ट हुने हो भने त त्यसो हुन पनि बेर नलाग्ला । बुबाको बचन राख्नैको लागि भए पनि जीवनमा उन्नति प्रगती नगरी भएको छैन । तर गर्ने पो कसरी खै ! जीवन न सरल रेखा हो न चुरोटको धुवाँको गोल चक्का, बरु यो त चैते हुरीझै लाग्छ मलाई । कतिखेर उडाएर कता पुर्याइदिन्छ पत्तै नहुने ।
खाडल माथिको खाडल हो जीवन । अभाव भित्रको अभाव हो जीवन । कोही कुकुर ’मोटर गाडी’ चढ्छन भने कोही कुकुर सरी हिड्छु भन्दा पनि सुख पाउँदैनन । कहिले काँही त अलि अलि हार हो अलि अलि जित, जे होस जीवन अनमोल गीत भने झै लाग्छ मलाई.......................।।