धनगढी पुगेर राजेन्द्र महतोले भने, ‘रेशम चौधरीको रिहाई नभए जेल भराउ आन्दोलन हुन्छ’ 
2021/03/02, 1:23
 
mahato

धनगढी : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुने बताएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘रेशमलाई जेलमा राखिरहने तागत अब कसैसँग छैन्,’ महतोले भने, ‘रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ । हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन ।’ कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशमलाई जन्मकैदको फैसला भएको थियो । घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए । अहिले उनी जेलमा छन् । 

पत्रकार सम्मेलनमा नेता महतोले जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने पनि बताए । ‘जसपा तत्काल सरकारमा जादैन,’ महतोले भने, ‘अहिलेसम्म कम्युनिष्ट पार्टीको करिब दुईतिहाइको सरकार छ । यस्तोबेला हामी सकारमा गएर कुनै अर्थ हुँदैन । अहिले कांग्रेस पनि सरकारमा सहभागी जाँदैन् होला ।’ उनले तत्काल नेकपाको दुवै पक्षसँग सहकार्य नहुने दावी गर्दै प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए ।