संक्रमित स्वास्थ्यकर्मी भन्छन्– ‘सीमामा भारतबाट आएकालाई मास्कको भरमा लाईन लगाउँदै थिए, त्यही गल्ती भयो’ 
2020/06/03, 9:06
 
korona

झण्डै साढे ९ बर्षदेखि म कञ्चनपुरको परासन स्वास्थ्य चौकीमा काम गर्दै आएको छु । कोरोनाको संक्रमण देखिएपछि भारतबाट पुर्नवासका मानिसहरु पनि आउने काम गरिरहेका थिए । हामीलाई पनि त्यहाँ जाँचका लागि पठाईयो ।

कैलालीको त्रिनगर नाकाबाट जेठ ८ गते आठ सय बढी नेपालीको उद्धार गरिएको थियो । सो दिन प्रदेश सरकारले आरडिटी किटको व्यवस्थापन गरेपछि कञ्चनपुरको पुर्नवास नगरपालिकाको तर्फबाट ¥यापिड टेस्टमा खटिएयौं । सीमामा भिड धेरै भएकाले आफुलाई पूर्ण रुपमा सुरक्षित राख्न मुस्किल भएको थियो । 

म र एक जना भाई उनीहरुको चेकजाँचमा लागेका थियौ । त्यो भाईले जाँच गरिरहेको थियो । म पुर्नवासका जनताहरुलाई लाईन लगाईरहेको थियो । त्यो वेला मैले पिपिई केही पनि लगाएको थिएन् । खाली मास्कको भरमा उनीहरुलाई लाईन लगाएर चेक गरिरहेका थियौं । सायद त्यही मेरो गल्ती भए जस्तो छ । त्यो दिन आएका ६ जनामा पोजेटिभ देखि सकिएको छ । उनीहरुबाट मलाई सरेको हो जस्तो छ ।

त्यो दिन पोजेटिभ देखिएका दुई जनाले सीममा मै शसस्त्र प्रहरीसँग विवाद समेत गरेका थिए । मैले नै उनीहरुलाई सम्झाई वुझाई माहोल शान्त पारेको थिए । सीमा क्षेत्रमा ¥यापिड टेस्ट बन्द भएपनि विभिन्न क्वारेन्टिनमा गएर ¥यापिड टेस्ट र शंकास्पद बिरामीको स्वाब संकलनको काम गरिरहेको थिए । १७ गते आफ्नो समेत स्वाव संकलन गरेर पठाएको थिए । मंगलवार दिउसो मेडिकल ल्याव एसोसिएसन अफ नेपालको धनगढीमा छलफल थियो ।

म पनि कञ्चनपुर जिल्ला सदस्य भएकोले छलफलका लागि धनगढी आएको थिए । प्रयोगशालामा चेकजाँच गरिरहेकाहरुसँग पनि चिनजान र मित्रता थियो । आफु पोजेटिभ भएको जानकारी पाएपछि सुरुमा त विश्वास लागेन । त्यो खबर सुन्दा केही डर पनि लाग्यो । मन पनि खिन्न जस्तो भयो । अव जे भएपनि भईहाल्यो भन्दै आफै त्यसपछि मोटरसाईकलमै सेती अस्पताल तर्फ हानिए ।

मैले स्वाब संकलन गरेका चार जनामा कोरोना भएको पनि खवर सुने । स्वाब संकलनकै क्रममा कोरोना सरेको होला जस्तो त लाग्दैन् । किनकी मैले व्यक्तीगत सुरक्षाका सामाग्रीको प्रयोग गरेको थिए । सतर्कता पनि अपनाएको थिए । तर सीमामा सयौँको भिड भएकाले त्यही नै केही गडवडी भएको जस्ता लाग्छ । 

दिनभरी काम गरे पनि साँझ भने म सधैं घर जान्थे । घरमा दुई छोरी र श्रीमति छ । सेतीमा स्वास्थ्यकर्मीका लागि छुट्टै वार्ड छ । यही वसेको छु । तर मलाई कोरोना पुष्टि भएपनि कुनै लक्षण समेत देखिएको छैन् । परिवारको चिन्ता लागिरहेको छ । छिट्टै कोरोनालाई जित्छु ।

(कञ्चनपुरका संक्रमित स्वास्थ्यकर्मीसँगको कुराकानीमा आधारित)