सुदुरपश्चिममा तीन बालिका सहित १० जना महिला कोरोना संक्रमित, एकको मृत्यु, दुई निको, ७ जना उपचारमा 
2020/06/03, 9:35
 
korona

सुदुरपश्चिममा तीन बालबालिका सहित १० जना महिला संक्रमित भएका छन् । उनीहरुमध्ये एक जनाको मृत्यु भएको छ । दुई जना निको भएर घर फर्किएका छन् भने  ७ जनाको उपचार भईरहेको छ । बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना भाईरस (कोभिड—१९) रिपोर्ट पोजेटिभ आएको छ । धनगढी स्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा ती बालिकामा कोरोना पोजेटिभ देखिएको हो ।

बुढीगंगा—१ की ती बालिकाको आईतबार बिहान जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा मृत्यु भएको थियो । यस्तै मृत बालिकाकी आमामा पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमित आमाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । मृतक बालिकाका बुवाको रिर्पोट भने नेगेटिभ आएको छ । बाजुरामा कोरोनाका कारण मृत्यु भएकी बालिका र उनकी आमा जेठ १३ गते गौरीफन्टा नाका भएर आएका थिए । यस्तै सोमबार मात्रै १८ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुमा तीन जना महिला रहेका छन् । डोटीको केआईसिंह गाउँपालिकाकी दुई बर्षीय बालिका र २७ बर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

सोमवार नै कैलालीकी थप एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । कैलालीको गौरीगंगा नगरपालिकाकी २८ बर्षीय महिलामा संक्रमण पुष्टि भएको हो । आज मात्रै अछामा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो । सुर्खेत प्रयोगशालामा जाँच गर्दा उनमा कोरोना पुष्टि भएको हो । यस अघि जेठ १३ गते अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भएको थियो अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन ।

यसैगरी कैलालीको टीकापुरमा आज मात्रै एक महिला संक्रमितमा कोरोना पुष्टि भएको छ । गएको चैत २२ गते धनगढीकी ३४ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई दुवईबाट आएका देवरबाट कोरोना सरेको थियो । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन । उनीहरु दुवै जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।