धनगढीका १४ वर्षीय किशोरको ‘अद्भुत इन्द्रेनी’ खण्डकाव्य
2021/03/16, 11:03
 
D

धनगढी : धनगढी उपहानगरपालिका– ३ का १४ वर्षीय किशोर विभूति अधिकारीको ‘अद्भुत इन्द्रेनी’ खण्डकाव्य लोकार्पण गरिएको छ । धनगढीमा आयोजित एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले ‘अद्भुत इन्द्रेनी’ को लोकार्पण गरेका हुन् । १४ वर्षीय कविले अत्यन्त बौद्धिक एवं सूचनामूलक खण्डकाव्यको जन्म दिएको डा. नेपालले बताए । उनले अगाडि भने, ‘नेपाली भूगोल, प्रकृति, संस्कृति, समाज र जीवनपद्धतीमा पाइने अद्भुत प्रकारको सप्तरङ्गी यस खण्डकाव्यले गहिराइमा पुगेर उतारेको छ ।’

धनगढीकै सिद्धार्थ शिशु सदनमा कक्षा ९ मा अध्ययनरत विभूतिले शास्त्रीय छन्द विधामा खण्डकाव्य तयार पारेको बताए । उनले भने, ‘अद्भुत इन्द्रेनी खण्डकाव्यमा तीन सय ४७ श्लोकमा विशाल नेपालको भूगोल, नेपाली समाज र संस्कृतिलाई उतार्ने प्रयास गरेको छु ।’ ‘अद्भुत इन्द्रनी’ मा अधिकारीले शार्दूलविक्रीडित, अनुष्टुप, मधुमाधवी, शिखरणी र स्रग्धारा गरि पाँच शास्त्रीय छन्दको प्रयोग गरेका छन् । अधिकारीको २०६३ साउन ५ गते सुदूर पूर्व इलाममा जन्म भएको थियो ।