कैलालीकी १३० किलोकी सानुमाया, टिकटकमा छिन् स्टार 
2021/03/22, 5:30
 
danu

धनगढी : छोटो भिडिओमै अभिनय क्षमता देखाउन पाइने भएपछि टिकटक यतिबेला निकै लोकप्रिय छ । टिकटक कला प्रस्तुत गर्न उमेरले पनि छेकेको छैन् । बालबालिकादेखि बृद्धबृद्धासम्म टिकटकमा रमाउने गरेका छन् ।

नेपालमा यसका प्रयोगकर्ता बढिरहेका छन् भने सुदूरपश्चिम पनि टिकटकमा बलियो उपस्थिति जनाउन थालेको छ । टिकटक बनाएरै अभिनय क्षमता देखाएका कतिपय त अहिले स्टार भएका छन् । केहीले म्यूजिक भिडिओमा काम पाएका छन् त केहीले चलचित्रमा नै काम गर्ने अवसर पाइसकेका छन् ।

सोही भीडमा होमिएर एक बर्ष अगाडि टिकटक बनाउन थालेकी २९ बर्षीया भावना आचार्य (सानुमाया) पनि अहिले टिकटक सेलिब्रेटीको दर्जा पाउन थालेकी छिन् । टिकटक बनाउन थालेको एक बर्षमै सानुमायालाई दुई लाख ७७ हजार बढिले फलो गरेका छन्  । उनका भिडिओमा ५३ लाखले लाइक छ । एउटै भिडिओ ८ लाख बढिले हेरेका छन् । 

‘सुरुवातको समयमा रमाईलोका लागि मात्रै टिकट बनाउन थालेकी थिए,’ सानुमायाले भनिन्, ‘तर टिकटक भिडिओ पोष्ट गर्दै जाँदा धेरैको साथ सहयोग पाइयो । सकारात्मक प्रतिक्रिया आउँदै गए । अनि भाइरल नै बनाइदिए ।’ उनका अनुसार टिकटक बनाउन सुरु गर्दा उनको तौल एक सय ११ किलो थियो । ‘

टिकटक बनाउँदा छमछमी नाचेपछि तौल पनि घट्छ होला जस्तो लागेको थियो,’ सानुमाया भन्छिन्, ‘तर त्यस्तो भएन् । केही दिन अगाडि तौल मापन गर्दा एक सय ३० किलो देखायो ।’ आफूले टिकटक बनाएपछि मोटोपन भएका व्यक्तिलाई समाजमा खुल्न सहज भएको अनुभव सानुमायाको छ ।

उनी भन्छिन्, ‘मोटो व्यक्तिहरु घर बाहिर आउन पनि लाज मान्ने गरेका छन् । तर मैले टिकटकमा भिडियो बनाउन थालेपछि त्यस्ता व्यक्तिलाई सहज भएको छ ।’ सानुमाया एक छोरीकी आमा हुन् । कैलालीको सहजपुर माइती घर भएकी उनको घर कैलालीकी टीकापुरमा छ । उनी टीकापुरमै व्यवसाय गर्दै आएकी छिन् भने फुर्सदको समयमा टिकटक बनाउने गरेकी छिन् ।