कैलालीका स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न सकेनन्
2021/03/27, 10:04
 
kailali

कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिक सम्म निकै न्यून बजेट खर्च भएको छ । केही स्थानीय तहमा योजनाहरु नै सुरु हुन सकेका छैनन् । 

कैलालीका १३ वटा स्थानीय तहले यस वर्ष पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । दोस्रो चौमासिकमा सबैभन्दा बढी कैलारी गाउँपालिकाले ४३ दशमलव ११ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम गोदावरी नगरपालिकाले ३० दशमलव ३९ प्रतिशत खर्च गरेको छ ।

यस्तै, धनगढी उपमहानगरपालिकाले ३६ दशमलव १५ प्रतिशत, गौरीगंगाले ३९ दशमलव ६१ प्रतिशत घोडाघोडीले ३४ दशमलव ५८ प्रतिशत, टिकापुरले ३५ दशमलव ७ प्रतिशत, भजनीले ३८ दशमलव ५४ प्रतिशत, लम्कीचुहा नगरपालीकाले ३९ दशमलव ४६ प्रतिशत खर्च गरेका छन् । 

यस्तै गाउँपालिकाहरुमा चुरेले ३४ दशमलव ६० प्रतिशत, जानकीले ३१ दशमलव ४२ प्रतिशत, जोशीपुरले ३९ दशमलव ६७ प्रतिशत, बर्दगोरियाले ३१ दशमलव २३ प्रतिशत र मोहन्यालले ३७ दशमलव ६६ प्रतिशत खर्च गरेका छन् । समग्रमा सबै स्थानीय तहको खर्च ३६ दशमलव ६ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक जगतप्रकाश भट्टले बताए । 

विगतमा पनि स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न सकेका थिएनन् । प्रत्येक वर्ष दोहोरिइरहेको असारे विकासका कारणले पनि समयमै बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ । यही गतिमा पालिकाहरूले बजेट खर्च गरेमा लक्ष्य पूरा गर्न समेत कठिनाइ हुने भट्टले बताए ।