सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित थपिने क्रम जारी, अस्पतालहरुका आईसोलेसन बेड अभाव, वेडभन्दा बढी संक्रमित भर्ना
2020/06/04, 10:57
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित थपिने क्रममा कमी आउन सकेको छैन । प्रदेशमा बुधबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालले दिउँसो तीन बजे प्रेस विज्ञप्ती जारी गर्दै बुधबार थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

संक्रमितमध्ये दुई जनाको प्रदेश बाहिर उपचार भइरहेको छ । पछिल्लो पटक एक सय ४७ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा पाच जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका पाच जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । सेती प्रादेशिक अस्पतालमा हालसम्म तीन हजार नौ सय ४६ जनाको स्वाब परीक्षण गरिएकोमा तीन हजार आठ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले हालसम्म एक सय आठ जना शंकास्पद विरामीको सामान्य उपचार गरि फर्काएको जनाएको छ ।
सुदूरपश्चिममा धमाधम कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालका आइसोलेसनमा बेड अभाव हुन थालेका छन ।

सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पतालमा आइसोलेसन बेडको संख्याभन्दा पनि बढी संक्रमित भर्ना गर्नुपरिरहेको छ । सेती प्रादेशिक अस्पतालमा २४ वेडको आइसोलेसन रहेकोमा २६ जना संक्रमित राखिएका छन । १० बेडको आइसोलेसन रहेको महाकाली अस्पतालमा १५ जना भर्ना गरिएको छ भने १२ बेडको आइसोलेसन रहेको टीकापुर अस्पतालमा १३ जना रहेका छन । अब यी अस्पतालमा थप विरामी राख्न सक्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्टहरू बताउँछन । मंगलबारमात्रै सेतीले पाँच जना कोरोना संक्रमितलाई फिर्ता गरेको थियो । महाकाली अस्पतालले पनि बुधबार जसोतसो आइसोलेसनमा संक्रमितको व्यवस्थापन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक र महाकाली अस्पतालमा प्रि–फ्याव प्रविधि मार्फत कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार सेती कोभिड अस्पताल भवन निर्माण भइ भवन हष्तान्तरण गरिसकेको छ भने महाकालीको भवन निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ । सेतीको भवन हस्तान्तरण भएपनि आइसोलेसन भने सञ्चालनमा आउन सकेको छैन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भवन हष्तान्तरण भएपनि उपकरण, मर्मत सम्भार लगायतका काम पूर्ण हुन नसकेको बताए । उनले भने –‘उपकरण जडान, विद्युतिकरण, खानेपानी जडान, फर्सिङ, सरसफाई व्यवस्थापन लगायतका कामहरू बाकी थियो ।’ उनले एक÷दुई दिनमा आइसोलेसन सञ्चालनमा आउने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले ९४ लाखमा दुई अस्पतालमा ५० वेडको आइसोलेसन बनाउने निर्णय गरेको थियो । सूचना अधिकारी श्रेष्ठले भने –‘५० वेडको आईसोलेसन भनिएको भएपनि सरकारको मापदण्ड अनुसार कोभिड अस्पतालमा ४० वेडमात्र व्यवस्थापन हुने छ ।’ यस्तै टीकापुरमा ३० वेडको आइसोलेसन सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ । पाच वटा स्थानीय तहको संयूक्त पहलमा ३० वेड थप गरिन लागेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनले भने –‘भवनको व्यवस्थापन भइसकेको छ ।

उपकरण, बेड लगायतको व्यवस्थापन पछि आइतबारदेखि आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशभरीका १६ वटा अस्पतालमा एक सय ८० बेडको आइसोलेसन रहेको छ । जसमा सेतीमा २४, जिल्ला अस्पताल बझाङमा २५, अछाममा १७, डडेल्धुरा,  वयलपाटा, जिल्ला अस्पताल दार्चुलामा १३÷१३, जिल्ला अस्पताल बाजुरा, टीकापुर अस्पतालमा १२÷१२, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटीमा १०÷१०, जिल्ला अस्पताल बैतडी, जोगबुडा अस्पतालमा आठ÷आठ, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाच, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार÷चार, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वेडको आइसोलेसन रहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा १४ वेडको आइसियू र आठ बेडको भ्यानटिलेटर रहेको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले २६ जना उपचाररत छन । अस्पतालमा २४ वेडको आइसोलेसन राखिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले २४ शैयाको आइसोलेशनमा २६ जना संक्रमितलाई राखिएको बताए । उनले भने –‘थप संक्रमितको तत्काल व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’ सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ ।