विद्यालय बन्द नगर्न सरकारलाई प्याब्सनको आग्रह
2021/04/11, 3:44
 
PP

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले विद्यालयहरु बन्द गर्न नहुने बताएको छ । विद्यालय बन्द गरेर कोरोना महामारी रोक्न नसकिने भन्दै प्याब्सनले बन्द नगर्न सरकारलाई आग्रह गरेको छ ।

शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले संक्रमण जोखिन न्यूनिकरण गर्न निर्देशिका जारी गर्न सरकारलाई सिफारिस गरेको छ । केन्द्रको ११ बुँदे सिफारिसमा विद्यालय कम्तीमा तीन हप्ता बन्द गर्न भनिएको छ ।

सीसीएमसीले विद्यालय बन्दको सिफारिस गरे लगत्तै प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न सरकारसँग अपिल गरेका हुन् ।

विश्वव्यापी कोरोना महामारी नेपालमा दोस्रो चरण सुरु भएको छ । नेपालमा नयाँ भेरियेन्टका कोरोना भाइरस देखिएको छ । नयाँ भेरियेन्टको भाइरस बालबालिका तथा युवामा अत्याधिक देखिएकाले विद्यालयहरु कोभिड–१९ को बाहक भएको भन्दै बन्दका लागि सिफारिस गरिएको हो ।

नयाँ भेरियेन्टका भाइरस बढी जोखिमपूर्ण भएकाले बढी सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य विज्ञहरुले सुझाउँदै आएका छन् । यता प्याब्सनले भने विद्यालय बन्द गरेर संक्रमण फैलन रोक्न नसकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

विगतको लकडाउनले शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित भएकाले अव बन्दको विकल्प खोज्नुपर्ने प्याब्सनको भनाई छ । बन्द गर्नै परे प्रभावित क्षेत्रका विद्यालय मात्र बन्द गर्न पनि सरकारसँग आग्रह गरेको छ । विद्यालय सञ्चालनका लागि सरकारले सहजीकरण गर्नुपर्ने प्याब्सनको माग छ ।