धनगढीबाट भीम रावलको घोषणा, ‘ओली अवैध अध्यक्ष हुन्,’
2021/04/11, 3:54
 
bb

धनगढी : नेकपा एमालेका उपाध्यक्ष तथा माधव नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीले गरेका निर्णय सार्वजनिक गर्दै नेता रावलले यस्तो बताएका हुन् । ‘केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा बैठक गरेर नेकपा एमालेलाई विभाजन गर्न खोज्नुभएको  छ,’ रावलले भने, ‘त्यस्ले कम्युनिष्ट आन्दोलनलाई पनि विसार्जनतर्फ लैजान खोजेको देखिन्छ । उहाँले राष्ट्रलाई पनि अपठ्यारो दिशातिर लैजाने दुष्प्रयास गर्नुभएको छ ।’  

फागुन २८ को भेला पार्टीको नभएर गुटको भएको बताउँदै उनले अगाडि भने, ‘प्रधानमन्त्री स्वयमले बालुवाटारमा बोलाएर जनप्रतिनिधिलाई पदको लोभ देखाउने, धम्काउने र डराउने गरिरहनुभएको छ भन्ने मैले सुनेको छु । त्यो निन्दनिय हो ।’ स्वयम ओलीले नवौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेड र विधान विपरित काम गरेको बताउँदै रावलले आफुमाथि गरिएको कारवाही स्विकार गर्न नसकिने बताए । ‘पार्टीको विधान विपरित ओलीले नै पटकपटक काम गरेका छन्,’ रावलले भने, ‘विधान विपरित काम गरेर ओली आँफै अवैध अध्यक्ष भइसकेका छन् । अवैध अध्यक्षले गरेको कारवाहीलाई स्विकार्न सकिदैन् ।’ 

यस्तै पत्रकार सम्मेलनमा नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष कर्ण थापालाई कारवाही गर्न सिफारिस गरिएको पनि जानकारी दिइएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक बर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो । धनगढीमा दुई दिनसम्म चलेको प्रदेश कमिटीको आठौँ बैठकले जिल्ला कमिटी र जनसंगठनका कमिटीहरु पुर्नगठन गर्ने निर्णय पनि गरेको छ ।