धनगढी, वैशाख ०२
कैलालीको गौरीगङ्गा नगपालिका वडा नम्बर ६ का वडा सदस्य टेक बहादुर कुँवरले जन्मदिनको अवसरमा धनगढीको दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन् ।
वडा सदस्य कुँवरले आफ्नो सेवा सुविधाको रकम बर्सेनि समाज सेवामा लगाउने गरेका छन् । सोही अनुरूप उनले आज आफ्नो ४८ औँ जन्मदिनको अवसरमा मानव सेवामा समर्पित दृष्टि फाउन्डेसनलाई खाद्यान्न, शैक्षिक सामग्री र स्वास्थ्य सामग्री सहयोग गरेका हुन। उनले आज एक कार्यक्रमका बिच फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट लगायतको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
दृष्टि फाउन्डेसनमा रहेका मानसिक रोगीहरूलाई सहयोग पुगोस् भनेर तडक भडकमा जन्मदिन मनाउनु भन्दा असहायको सेवाका लागि सहयोग गरेको उनले बताए । उनले जनप्रतिनिधिका रूपमा गरिने फजुल खर्च र आफूले पाउने सेवा सुविधालाई बचाएर फाउन्डेसनलाई सहयोग गरिएको बताए । पछिल्लो समय समाजमा भड्किलो जन्मदिन मनाउने तथा पश्चिमा संस्कृतिको विकासले मौलिकता हराउँदै गएको छ । उनले भने, अर्कातिर जनप्रतिनिधिहरू पनि सेवा सुविधामा बढी केन्द्रित हुने गरेका छन् । त्यसैले अब समाजमा त्यस्ता कुराहरूलाई निरुत्साहित गर्नुपर्छ र मानवीय सेवामा सबैले लाग्नुपर्छ भन्ने उद्देश्यका साथ मैले यहाँसम्म आएर सहयोग गर्ने निर्णय गरेको हु ।
उनले फाउन्डेसनमा रहेका मानसिक रोगीहरूको अवस्था देख्दा सरकारहरू पनि उनीहरूको विषयमा उदासीन बनेको महसुस भएको भन्दै अब सबैको ध्यान यस तर्फ जानुपर्नेमा जोड दिए । तर पनि दृष्टि फाउन्डेसनले यस्तो पवित्र काम जुन राज्यले गर्नुपर्ने दायित्व हो त्यो पुरा गरेको भन्दै फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले अध्यक्ष कुँवरलाई जन्मदिनको शुभकामनासहित धन्यवाद ज्ञापन गरिन् । उनले फाउन्डेसनमा रहेका बालिकाहरूलाई शैक्षिक सामग्रीको अभाव रहेको भन्दै वडा सदस्यको सहयोगबाट राहत पुगेको बताइन् ।
सो अवसरमा सहयोग हस्तान्तरण कार्यक्रममा सुरत रावत डोटेली कान्छा, हेमन्तराज जोशी, टेक बहादुर बोगटी, डम्बर पुजारा, मीन बहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो ।
विगत ४ वर्षदेखि मुठ्ठी दानबाट धनगढीमा ९ जनाबाट सुरु भई सञ्चालित फाउन्डेसनमा अहिले ४२ जना मानसिक रोगीहरू रहेका छन् । फाउन्डेसनले हालसम्म ३९ जनाको पुनर्स्थापना गरिसकेको छ ।
वडा सदस्य कुँवरले आफू निर्वाचित भए यता आफ्नो सम्पूर्ण सेवा सुविधा समाज सेवामै लगाउने गरेका छन् । पहिलो वर्षको कार्यकालमा उनले बनबेहडामा रहेको अमर माविमा अक्षय कोष स्थापना गरेका थिए । दोस्रो वर्ष वडामा रहेका जेष्ठ नागरिकलाई सहयोग, त्यसपछि लकडाउनमा ६ क्विन्टल चामल लगायतको सहयोग गरेका थिए ।