कामको खोजीमा दुई महिनाअघि भारतको पुना पुगेका अछाम चौरपाटीका मानबहादुर साउद आइतबार कैलालीको त्रिनगर नाका हुँदै घर फर्किएका छन् । होटेलमा वेटर उनले आगामी दसैँमा घर फर्कने सोच बनाएका थिए । तर, महाराष्ट्रमा कोरोना संक्रमण बढेसँगै लकडाउनका कारण जागिर गुमेपछि उनी दुई महिनामै घर फर्कन बाध्य भए ।
एक साताअघि रोजगारी गुमेको मानबहादुरले बताए । ‘कोरोना बढेको भन्दै उता होटेल, बजार सबै बन्द छन् । लकडाउनमा अर्काको देशमा थुनिनुभन्दा आफ्नै देश फर्केँ,’ आइतबार बिहान नाकामा भेटिएका उनले भने, ‘केही महिना काम गर्ने सोच थियो । तर, कोरोनाका कारण होटेल बन्द भएपछि फर्कनुपर्यो ।’
उनीसँगै महाराष्ट्रका विभिन्न ठाउँमा काम गरिरहेका चौरपाटीका अन्य चारजना पनि घर फर्किएका छन् । दुई महिनामै फर्कनुपर्दा कमाइ नभएकाले छोराछोरी र परिवारका लागि लुगाफाटोसमेत किन्न नसकेको दुःखेसो उनीहरूले सुनाए । रोजगारी गुमेपछि बर्दिया राजापुरका विष्णु कामी पनि पुनाबाट घर फर्किएका छन् । गत पुसमा भारत गएका उनी होटेलमा काम गर्थे । कोरोना बढे पनि काम चलेको भए उतै बस्ने सोच बनाएका थिए, तर होटेल बन्द भएपछि सात–आठ दिनदेखि बेरोजगार बनेका उनले लकडाउनमा थप समस्या हुने डरले घर फर्किएको बताए ।
नाकामा एन्टिजेन परीक्षण गर्दागर्दै भेटिएका विष्णुलाई घर पुगेर बेरोजगार बस्दा आर्थिक समस्याले सताउने चिन्ता छ । देशभित्र सामान्य कामसमेत नपाएपछि अर्काको देश जानुपरेको गुनासो उनले सुनाए । ‘गरिबीका कारण परिवार पाल्न समस्या भएपछि अर्काको देशमा जानुपरेको हो । के गर्नु, स्वदेशमा काम पाइँदैन । परिवार पाल्नकै लागि पनि जानुपर्ने बाध्यता छ,’ उनले भने । महामारीको अवधि लम्बिएर लामो समय भारत फर्कन नपाए परिवारको गुजारा गर्न नै समस्या हुने उनले बताए ।
भारतमा संक्रमण तीव्र गतिले बढ्न थालेपछि नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । त्रिनगर नाकाबाट मात्रै दैनिक सात–आठ सयजना आउने गरेका छन् । उनीहरू अधिकांश सुदूरपश्चिमकै बासिन्दा हुन् ।
चरम गरिबीका कारण सुदूरपश्चिमबाट रोजगारीका लागि भारतका विभिन्न सहर जानेको संख्या ठूलो छ । तर, यकिन तथ्यांक भने सरकारसँग पनि छैन । ‘धनसम्पत्ति जोड्न अर्काको देश गएका होइनौँ । यहाँ परिवार पाल्नसमेत काम पाइँदैन, त्यसैले बाध्य भएर भारत जानुपरेको हो,’ भारतबाट आइतबार फर्केका कैलाली पहलमानपुरका लोकबहादुर शाहीले भने ।
गत वर्ष लकडाउनको सुरुमा चैत–वैशाखतिर कोरोनाको त्रासले भारतबाट फर्कनेको नाकामा थामिनसक्नु भिड लागेको थियो । तर, घरमा लामो समय बेरोजगार बस्दा छाक टार्नसमेत समस्या भएपछि उनीहरू संक्रमण उत्कर्षमै रहेका वेला केही महिनामै भारत फर्किएका थिए । लकडाउनको सुरुमा घर आउनेजत्तिकै भिड यतिखेर नाकामा भारत फर्किनेको देखिएको छ ।
महामारीका वेला हजारौँ युवा स्वदेश फर्के पनि उनीहरूलाई रोजगारी दिने कार्यक्रम सरकारले ल्याउन नसकेको सरोकारवालाको भनाइ छ । गरिबीका कारण मजदुरी गर्न भारत जानुपर्ने विगतदेखिको बाध्यता अन्त्यका लागि तीनै तहका सरकारले काम गर्न नसकेको उपप्राध्यापक देवराज अवस्थीले बताए ।
‘संक्रमणकै वेला ज्यान जोखिममा राखेर भारत जान बाध्य भएकाहरूको भिड सरकार, राजनीतिक दलका नेता र नीति निर्माणकर्ताले देखेनन् । सामान्य कामका लागि पनि भारत जानुपर्ने बाध्यताको पीडा देश चलाउनेले बुझेनन्,’ अवस्थीले भने, ‘कोरोनाकै वेला नाकामा आउने र जानेको भिड देखेको भए रोजगारी सिर्जना गर्ने योजना आउँथे ।’ विद्यालय जानुपर्ने कलिला किशोरदेखि कपाल सेताम्य भएका वृद्धसम्म कामको खोजीमा भारत जाँदै गरेको दृश्यले राज्य सञ्चालन गरिरहेकालाई नछुनु विडम्बना भएको उनले बताए ।
केही सातायता पश्चिमी नाका त्रिनगर र गड्डाचौकीमा स्वदेश फर्किनेको घुइँचो लागेको छ । तर, नाकामा सबैको स्वास्थ्य परीक्षण गरिएको छैन । जसका कारण संक्रमणको जोखिम बढेको छ । भारतबाट फर्केकामा संक्रमण देखिने क्रम बढेको छ । यस्तो वेला परीक्षण नगरीकनै घर पठाउँदा संक्रमण झन् चाँडो फैलने जोखिम अत्यधिक बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
त्रिनगर नाकामा मात्रै २ चैतयता भारतबाट फर्केका आठ सयजनामा संक्रमण देखिएको छ । यो अवधिमा नौ हजार नौ सय ६६ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य परीक्षणमा खटिएका अहेव गणेश बोहराले बताए । आइतबार मात्र भारतबाट करिब सात सयजना भित्रिएकोमा तीन सय ६१ को मात्रै परीक्षण गरिएको छ । तीमध्ये ४० जनामा संक्रमण देखिएको छ ।
गड्डाचौकी नाकामा भारतको महाराष्ट्र, नयाँदिल्ली, गुजरातलगायतका क्षेत्रबाट फर्किएका नेपालीको मात्रै ज्वरो नाप्ने र एन्टिजेन परीक्षण गर्ने काम भइरहेको छ । सोमबार गड्डाचौकी नाकाबाट नौ सयजना भित्रिएका थिए, उनीहरूमध्ये एक सय नौजनाको मात्रै परीक्षण गरिएको थियो । त्यस्तै, ४ वैशाखमा भित्रिएका एक हजार ११ जनामध्ये एक सय ९४ को मात्रै परीक्षण गरिएको छ । नाकामा स्वास्थ्य सुरक्षा पनि अपनाइएको छैन ।
भीमदत्त नगरपालिकाले गड्डाचौकीमा स्थापना गरेको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी पनि अभाव छ । सात स्वास्थ्यकर्मी मात्रै कार्यरत छन् । नगरपालिका आधारभूत स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र उपकरण अभाव भएको बताए ।
हेल्थ डेस्कबाट पत्ता लागेका संक्रमितलाई उपचारका लागि एम्बुलेन्समार्फत महाकाली अस्पताल पु¥याइने गरिएको छ । ‘अस्पतालमा संक्रमितको अवस्था हेरेर आइसोलेसन वा होम क्वारेन्टिनमा राख्ने गरिन्छ,’ जोशीले भने । उनका अनुसार अहिले भारतबाट फर्किने दैनिक १० देखि १५ जनामा संक्रमण देखिन थालेको छ ।
संक्रमित देखिएकालाई महाकाली अस्पतालको आइसोलेसन र महेन्द्रनगरको सामुदायिक स्वास्थ्य संस्थामा राखिने गरिएको छ । अस्पतालमा अहिले सात महिला र ३५ पुरुष गरी ४२ जना संक्रमित उपचाररत छन् । कञ्चनपुरका सामुदायिक विद्यालयमा समेत कोरोना संक्रमण बढ्न थालेको छ । महेन्द्रनगरस्थित भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । आइतबार विद्यालयले सूचना जारी गरेर अर्को सूचना नहुन्जेलसम्म विद्यालय बन्द गरिएको जनाएको छ ।
भारतमा संक्रमण भयावह भएपछि कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किएका छन् । त्रिनगर नाकाबाट मात्रै दैनिक औसत सात–आठ सयजना फर्किने गरेका छन् । एन्टिजेन किट र जनशक्ति अभावले भारतबाट आउने सबैको परीक्षण गर्न नसकिएको अहेव बोहराले बताए ।
प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले पछिल्लो केही सातायता सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको बताए । भारतबाट फर्किएका दुई संक्रमितको मृत्यु भइसकेको छ । नाकामा हुने अव्यवस्थित भिडमा स्वास्थ्य सावधानी पनि अपनाएको देखिँदैन ।
भारतमा संक्रमित फैलिएका क्षेत्रबाट आएका र लक्षण देखिएकाहरूको मात्रै एन्टिजेन परीक्षण गर्ने गरिएको निर्देशक अवस्थीले बताए । ‘प्रत्येक मान्छेको परीक्षण सम्भव हुँदैन । भारतमा कोरोना प्रभावित क्षेत्रबाट आएका र लक्षण भएकालाई जाँच्ने हो,’ उनले भने । एन्टिजेन परीक्षण पजिटिभ देखिएकालाई धनगढीमा बनाइएको आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ । १० दिन आइसोलेसनमा राखेर घर पठाउने गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । नयाँपत्रिकाबाट