दार्चुला जिल्ला अस्पतालको २४ घण्टे आकस्मिक सेवा तीन सातादेखि ठप्प
2021/04/19, 10:38
 
health

महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो। सदरमुकाम खलंगामा बस्दै आएकी ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन्। महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर जिल्ला अस्पताल दार्चुलामा एक जना पनि चिकित्सक थिएनन्।

चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चिकित्सक नहुँदा व्यथा लागेका महिलालाई गोकुलेश्वर सिफारिस गरियो। उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पुर्‍याइएको थियो।

यो त एक प्रतिनिधि घटना मात्रै हो। उनीजस्तै दर्जनौँ गर्भवतीले अहिले जिल्ला अस्पताल पुगेर गोकुलेश्वर वा पिथौरागढ सिफारिस हुनुपर्ने बाध्यता छ। अस्पतालमा बच्चा पाउन आउने गर्भवतीको जिल्लामै सुत्केरी हुन नसक्दा बिचल्ली भएको छ। सहज रूपमा जिल्लामै हुने शल्यक्रियाका लागि गोकुलेश्वर जाँदा ६ हजार तिर्नुपरेको आफन्तजन बताउँछन्।

गर्भवतीका लागि भन्दै २४ घण्टे आकस्मिक प्रसूति सेवा केन्द्र राखिएको तर जिल्ला अस्पतालको आकस्मिक प्रसूति केन्द्र तीन सातादेखि बन्द छ।  जिल्लाको मुख्य अस्पतालको स्वास्थ्य सेवा लथालिंग हुँदा पनि सरोकारवाला निकाय भने उदासीन बनेको बिरामी बताउँछन्।

जिल्ला अस्पताल दार्चुलामा आकस्मिक सेवा हेर्दै आएका मेडिकल अधिकृत नवीनकिशोर मल्ल धनगढी र अस्पताल निमित्त प्रमुख एवं एमडीजीपी डा आदर्श लिम्बू काठमाडौँ तालिममा गएपछि आकस्मिक सेवा बन्द भएको छ। ‘शल्यक्रिया गर्न चिकित्सक चाहिन्छ,’ प्रसूति सेवामा कार्यरत एक स्टाफ नर्सले भनिन्, ‘हामीले त्यो गर्न सक्दैनौँ।’

चिकित्सक नहुँदा चैत दोस्रो सातादेखि अस्पतालमा शल्यक्रिया हुन सकेको छैन। अस्पतालमा आउने गर्भवतीलाई गोकुलेश्वर पठाउने गरिएको उनको भनाइ छ।  शुक्रबार मात्र दुई सुत्केरी व्यथा लागेर आएका महिलालाई पठायौँ। अस्पताल हो तर सबै चिकित्सक एकैपटक तालिममा जाँदा अस्पतालको स्वास्थ्य सेवा नाजुक बनेको उनको भनाइ छ।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्ट चिकित्सकको तालिम परेका कारण जिल्लाबाहिर जानुपरेको बताउँछन् । यस बीचमा बिरामी हेर्न गोकुलेश्वरबाट चिकित्सक मियाज अन्सारी एक साता जिल्ला अस्पतालमा काम गरेर फर्किभएका छन्।

शुक्रबार र शनिबार अस्पतालमा चिकित्सक नै छैनन्। प्रदेश सरकारमार्फत खटाइएका डा देवेन्द्र नेगी शनिबार बेलुकीसम्म आइपुग्ने अस्पतालले जनाएको छ। ‘बिरामीको चाप बढी नै छ’, उनले भने, ‘हामीले सक्दो सेवा दिएका छौँ,’ भट्टले भने।

अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन्। पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन्। एक जना मात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नुपर्ने बाध्यता छ। पछिल्लो समय अस्पतालमा दक्ष जनशक्तिसमेत छैन। दक्ष जनशक्ति नहुँदा मंसिरमा जडान गरिएको आईसीयू र भेन्टिलेटर शय्या प्रयोगमा आएको छैन।