सुदुरपश्चिममा थुनुवादेखि सरकारी कर्मचारी, एम्बुलेन्स चालकदेखि स्वास्थ्यकर्मीसम्मलाई कोरोना संक्रमण
2020/06/05, 12:56
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ९२ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा भारतबाट नेपालीहरु आउने क्रम वढेसँगै कोरोनाका संक्रमितहरु पनि एक्कासी वढिरहेका छन् । यस अघि चैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि प्रदेश कोरोनाका विरामी मुक्त भएको भन्दै प्रचार समेत गरियो ।

बीचको ४० दिन शान्त रहेको सुदुरपश्चिममा पछिल्लो दुई सातामा मात्रै संक्रमितको संख्या ह्वात्तै वढेको छ । दुई सातामा ८७ जना संक्रमित पुष्टि भएका छन् । कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएका धेरै नमुनाहरु जाँच गर्न बाँकी रहेकोले संक्रमित थपिने सम्भावना रहेको सम्बद्धहरु बताउँछन् । परिक्षणको दायरा वढाउँदै लगिएकोले संक्रमित संख्या वढ्न सक्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

सुदुरपश्चिमका कोरोना संक्रमितहरु थुनुवादेखि सरकारी कर्मचारी, एम्बुलेन्स चालकदेखि स्वास्थ्यकर्मीसँग रहेका छन् । सुदुरपश्चिममा वैतडीमा २१ बर्षीय थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी युवती हत्याको आरोपामा जिल्ला प्रहरी कार्यालय वैतडीको थुनुवा कक्षमा रहेका छन् । कोरोना संक्रमण भएपछि उनलाई जिल्ला अस्प्ताल वैतडी राखिएको थियो । दुई दिन अघि उनी कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यस्तै  डडेल्धुरामा एक जना सरकारी कर्मचारीलाई पनि कोरोना लागेको छ । पर्शुराम नगरपालिकाका २६ बर्षीय युवकलाई कोरोना पुष्टि भएकोमा उनी पनि निको भएर घर फर्किएका छन् । डडेल्धुरा अस्पतालमा उपचारपछि उनले कोरोना जितेका हुन् । 

अछाममा एक जना एम्बुलेन्स चालकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलसेन नगरपालिका २३ बर्षीय एम्बुलेन्स चालकको स्वाब नमुना परिक्षण सुर्खेत प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनी आईतबार अछामबाट विरामी ल्याएर धनगढी आएका थिए । उनको हाल सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । कञ्चनपुरमा एक जना स्वास्थयकर्मीलाई कोरोना पुष्टि भएको छ । भारतबाट आएका पुर्नवास नगरपालिकाका वासिन्दाहरुको चेकजाँच गर्दै आएका स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । उनी आफै सेती अञ्चल अस्पताल पुगेका थिए । उनको पनि सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 

सुदुरपश्चिममा अहिलेसम्म ९२ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा सवैभन्दा वढी कैलालीमा ४० जना संक्रमित रहेका छन् । सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ । ८ जना डिस्चार्ज भईसकेका छन । उनीहरु मध्ये प्रदेशभित्रबाटै ७ जना डिस्चार्ज भएका हुन भने एक जना प्रदेश वाहिर डिस्चार्ज भएका हुन् । 

सुुदरपश्चिम प्रदेशमा ९२ जनामा संक्रमण पुष्टि भएकोमा सबैभन्दा बढी कैलालीमा रहेका छन । कैलालीका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी  अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, डडेल्धुरा र बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म सवैभन्दा वढी धनगढीको प्रयोगशालाबाट ६९ जनामा, सुर्खेतको प्रयोगशालाबाट १२ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।