प्रदेश सरकारको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले भने– ‘प्रदेश सरकार अब दौडिन्छ’
2020/06/05, 2:46
 
cm

प्रदेश सरकारको चौतर्फी आलोचना भईरहेका वेला सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार अव दौडिने बताएका छन् । यस अघि प्रदेश सभाको वैठकमा पनि उपस्थित नभएको भन्दै आफ्नै पार्टीका सांसदहरुले पनि चर्को आलोचना भईरहेका वेला मुख्यमन्त्री भट्टले नयाँ कार्ड फाल्दै प्रदेश सरकार दौडिने बताएका हुन् । सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको दशौं बैठकमा सरकारले संसदमा ल्याएको आर्थिक वर्ष ०७७, ७८ को वार्षिक  नीति तथा कार्यक्रममा संसदमा उठेका टिप्पणीमाथि सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार तिव्र गतिमा दौडिने दावी गरेका हुन् ।

‘विभिन्न कारणले अहिलेसम्म ढिलासुस्ती भयो । प्रदेश सरकारले धेरै काम गर्न सकेन ।’ मुख्यमन्त्री भट्टले भने– ‘अब प्रदेश सरकार दगुर्नेछ ।’ उनले प्रदेश सरकारले गरेका राम्रा कामको चर्चा हुन नसकेको भन्दै दुखेसो समेत गरे । ‘प्रदेशले गरेका कामको चर्चा भएन । बाहिर आएनन ।  प्रदेशले गरेका काम चर्चामा नआओस भन्ने कतिपयको सोच छ ।’ विगतमा आलोचित भएको डल्लो बजेट अवदेखि बजेटमा नराख्ने मुख्यमन्त्री भट्टले प्रतिवद्धता व्यक्त गरे । ‘आर्थिक वर्ष ७७-७८ मा बजेटमा डल्लो बजेट राख्ने वाला छैनौ, उनले भने, यो पटक जति योजना हुन्छन, त्यति नै बजेट राख्छौ । डल्लो बजेट राख्दैनौ ।

’ संसद वैठकमा बोल्दै उनले यस वर्ष स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । यस वर्ष स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको उनको दावी छ ।  ‘यस वर्ष हामी अस्पतालहरुको स्तरोन्नति गर्छौ । शैया थप्छौ ।’ उनले भने– ‘तीन वटा ट्रमा सेन्टर बनाउँछौ । क्यान्सर अस्पताल बनाउँछौ ।’ उनले समयमै भारतमा रहेका नेपालीहरुको उद्धार हुन नसकेका कारण समस्या उत्पन्न भएको बताए । ‘दुई महिना पहिले भारतमा रहेका नेपालीहरुको उद्धार हुन सकेको भए त्यतिबेला त्यहाँ रोग फैलिईसकेको थिएन । नेपालीहरु संक्रमित भईसकेका थिएनन ।’ उनले भने, –‘ढिलो उद्धार हुँदा एकातिर उनीहरु बेखर्ची भएर आएका छन् । अर्कोतिर संक्रमित भएर आएका छन् ।’

मुख्यमन्त्री भट्टले हालसम्म कार्यान्वयनमा आउन नसकेको सय करोड बजेट रहेको स्वरोजगार मार्फत प्रवासबाट आएका मजदुरहरुलाई बिना धितो कर्जा दिएर स्वरोजगार र उद्यमशिल बनाउने बताए । मुख्यमन्त्री भट्टले भु्रण हत्या रोक्न र छोरीमाथि हुने विभेद कम गर्न छोरी जन्मिने बित्तिकै बिमाको व्यवस्था गरिने, महिला हिंसा न्यूनीकरणका लागि पनि बजेटमा विशेष योजना राखिने बताए । उनले कोभिड १९ (कोरोना भाईरस) को रोकथाम र नियन्त्रणसंगै सुदूरपश्चिमका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । संसदमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीयका नेता रणबहादुर रावल लगायतले सरकारले प्रतिपक्षलाई शत्रुको जस्तो व्यवहार गरेको वेवास्ता गरेको आरोप लगाएको थियो ।

सो आरोपको प्रतिवादमा मुख्यमन्त्री भट्टले प्रतिपक्षलाई वेवास्ता नगर्ने संगै लगेर अघि बढ्ने प्रतिबद्धता गरे ।मुख्यमन्त्री भट्टले राम्रा योजनाहरु कार्यान्वयन हुन नसकेका कारण प्रदेश सरकारमाथि प्रश्न चिन्ह उठेको बताए । उनले भने– ‘अव ती योजनालाई कार्यान्वयन गर्छौ ।’ नीति तथा कार्यक्रममा कतिपय योजना दोहरिए भन्ने गुनासो आएको भन्दै योजनाहरु कार्यान्वयन नहुँदासम्म दोहोरिहने बताए । प्रदेश सरकारको हातमा धेरै कुरा नभएकोले काम गर्न कठिनाई भईरहेको मुख्यमन्त्रीको भनाई थियो ।