‘कोरोना रोकथाम र नियन्त्रणमा सुदूरपश्चिम प्रदेश सरकार पूर्ण असफल र गैरजिम्मेवार’
2021/04/30, 5:51
 
corona

सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलले कोराना रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकार पूर्णत असफल र गैर जिम्मेवार भएको ठहर गरेको छ ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना संक्रमण फैलिएको एक वर्ष बित्दा पनि कोरोना अस्पतालहरुको स्थापना, शैया संख्याको बृद्धि, चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्न प्रदेश सरकार र संघीय सरकार उदासिन र गैर जिम्मेवार भएको आरोप लगाए ।

नेता रावलले कोरोना संक्रमणले भयावह रुप लिदा पनि प्रदेश सरकार र संघीय सरकार आपसी द्धन्दमा व्यस्त रहनु वा नागरिकको जीवन रक्षाका लागि उदासिन हुदा यस्तो अवस्था सृजना भएको बताए । उनले सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यो समयमा पनि जिम्मेवार नहुनुले यहाँका नागरिकले सरकार र अभिभावक बिहिन महशुस गरिरहेको गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै रावलले भने, प्रदेश सरकार यतिबेला पनि नागरिकको जीवन रक्षा भन्दा पनि कमिसन र भ्रष्टाचारका योजना बाडफाँडमा तल्लिन रहनु दुर्भाग्यपूर्ण कुरा हो ।

नेता रावलले सीमाबाट भित्रिने हरेक नागरिकको नाकामै स्वास्थ्य परीक्षण गर्न र पोजेटिभ देखिएकालाई उपचार र अन्यलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरे । उनले भने– ‘सुदूर पश्चिमका नौ वटै जिल्लामा भेन्टिलेटर र आईसियु समेतको उपचारको व्यवस्था अविलम्ब गरियोस । सञ्चालनमा नआएका आईसिुय र भेन्टिलेटरलाई तत्काल सञ्चालन गरियोस् ।’ 

उनले पीसीआर परीक्षणको दायरा बढाउन र हरेक जिल्लामा पीसीआर ल्यावको अविलम्ब व्यवस्था गरि २४ सै घण्टा पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसंग माग गरे । भ्याक्सिन र स्वास्थ्य सामग्रीमा सरकारले गरिरहेको कार्टेलिङ र कमिसनखोरी बन्द गर्न आग्रह गर्दै नेता रावलले भने– कोेरोना खोप सम्पूर्ण नागरिकका लागि सर्बसुलभ गरियोस । हरेक नागरिलाई खोपको व्यवस्था गरियोस । 

नेता रावलले कोरोना संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न समेत जनतासंग अपिल गरे । सरकारका गतिबिधि र क्रियाकलाप प्रति बिमती रहेपनि कोराना रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सदैव सरकारको साथमा रहेको नेता रावलले जानकारी दिए ।