पछिल्लो २४ घण्टाको अवधिमा सुदूरपश्चिममा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली कञ्चनपुर र डडेल्धुराका गरी ७ जना संक्रमितले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा तीन तीन जना र डडेल्धुरामा एक संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिला संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर गोविन्द रोकायाले जानकारी दिए । उनका अनुसार होम आइसोलेसनमा रहेका भीनपा–१८ का पुरुष संक्रमितको पनि मृत्यु भएको छ ।
यता कैलालीमा पनि तीन जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति दुई जना महिला र शनिबार विहान एक पुरुषको मृत्यु भएको हो । शनिबार कैलालीमा गोदावरी नगरपालिका–१ का २८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
यसअघि शुक्रबार जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । यस्तै लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ । बैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार विहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।
उता डडेल्धुराका थप एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल आउँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत उनीमा शुक्रबार कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि डडेल्धुरा लैजादंै गर्दा बाटोमै उनको ज्यान गएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए ।