डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ। अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो। ‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले यस्तो दिनसंग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं, तत्काल थप बिरामीहरूलाई भर्ती गर्न नसक्ने वास्तविकतामा पुगेका छौं,’ सूचनामा भनिएको छ।
अस्पतालमा भएका विमारी निको हुनेवित्तिकै नयाँ केस भर्ने अस्पतालले जनाएको छ। हाललाई अस्पताल सेवा पहिले नै संतृप्त भइसकेको कुरा सार्वजनिक गर्दछौं,’ सूचनामा लेखिएको छ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र विष्टले अक्सिनजले धान्न नसकेर बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताए।
‘अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्नेछौं। बेड मात्र भएर के गर्ने अक्सिजन अभाव भइसक्यो,’ उनले भने। अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ। त्यसको दैनिक ११ जनालाई मात्रै अक्सिजन दिनसक्ने क्षमता रहेको मेसु विष्टले बताए।
‘प्लान्टबाट दैनिक २७ सिलिण्डर भर्ने क्षमता हो, जसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ तर अहिले १६ जनालाई अक्सिजन दिएका छौं,’ उनले भने। अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पुर्याउने व्यवस्था गरेको छ। डडेल्धुरा अस्पतालमा अहिले १६ जना कोभिड सक्रमित बिरामी छन्। तीमध्ये ३ भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ।अस्पतालमा आइसियू बेड ८ र एचडियू गरेर २१ बेड कोरोना संक्रमितका लागि तयार छ। यता धनगढीको सेती प्रादेशिक अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ भएको छ ।
४० शैयाको कोरोना अस्पताल, १० वटा भेन्टिलेटर र आइसियु वार्ड कोरोना संक्रमितले भरिएपछि प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार थालिएको छ । यतिबेला आकस्मिक कक्षका सबै बेड र ग्यालेरीमा समेत संक्रमितले भरिएको छ ।