सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ ।
शनिबार प्रदेशमा पीसीआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमुना परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ संक्रमित उपचाररतमध्ये तीनजना भेन्टिलेटरमा र १७ जनाको सघन उपचारकक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।
अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँचजनाको उपचार भइरहेको छ । कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहज रूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
कोरोना संक्रमण र मृत्युदर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् । प्रदेशमा एक हजार ८५२ सक्रिय बिरामी पुगेका छन् ।