सुदूरपश्चिममा कोरोनाका कारण एक सातामा ४३ जनाको मृत्यु भएको छ । गत शनिबारदेखि यो शनिबारसम्म गरी आठ दिनको अवधिमा ४३ जनाले ज्यान गुमाएका हुन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा वढी कैलाली र कञ्चनपुरका रहेका छन् । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाईएको छ ।
निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८÷१८ जनाको कोरोनाबाट मृत्यु भएको छ । डडेल्धुरा र अछामका २÷२ जनाको मृत्यु भएको छ भने बैतडी, बझाङ र दार्चुलाका १÷१ जना संक्रमितले पनि ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको मुत्यु भईरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टाको अवधिमा सुदूरपश्चिममा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली कञ्चनपुर र डडेल्धुराका गरी १० जना संक्रमितले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरका पाँच जना, कैलालीका चार जना र डडेल्धुरामा एक संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिला संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर गोविन्द रोकायाले जानकारी दिए ।
उनका अनुसार होम आइसोलेसनमा रहेका भीनपा–१८ का पुरुष संक्रमितको पनि मृत्यु भएको छ । यसगरी सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका दुई कोरोना सङ्क्रमितको शनिबार दिउँसो मृत्यु भएको छ । एक÷एक घण्टाको फरकमा दिउँसो दुवै सङ्क्रमितको मृत्यु भएको हो ।
जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको दिउँसो १ बजे र बेल्डाँडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको दिउँसो २ बजे मृत्यु भएको हो ।
यता कैलालीमा पनि चार जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति दुई जना महिला र शनिबार विहान एक पुरुष र दिउँसो अर्की महिलाको मृत्यु भएको हो । शनिबार कैलालीमा गोदावरी नगरपालिका–१ का २८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए ।
यसअघि शुक्रबार जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ । बैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार विहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।
यसैगरी कोरोना अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ । टीकापुरकी संक्रमित महिला वैशाख ११ कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिईन् । उनमा कडा खालको निमोनिया थियो ।
उता डडेल्धुराका थप एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल आउँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत उनीमा शुक्रबार कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि डडेल्धुरा लैजादंै गर्दा बाटोमै उनको ज्यान गएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए ।