सुदूरपश्चिममा कोरोनाका कारण ९ दिनमा ४७ जनाको मृत्यु भएको छ । गत शनिबारदेखि आज आईतबार विहानसम्मको अवधिमा ४७ जनाले ज्यान गुमाएका हुन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा वढी कञ्चनपुरका रहेका छन् । त्यसपछि कैलालीका रहेका छन् । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाईएको छ ।
निर्देशनालयका अनुसार ककञ्चनपुरमा सबैभन्दा बढी एक्काईस जनाको मृत्यु भएको छ । पछिल्लो ८ दिनको अवधिभमा १८ जनाको मृत्यु भएकोमा आईतबार विहान थप तीन जनाको मृत्यु भएको हो ।
भीमदत्त नगरपालिका–७ की ५५ वर्षीया महिला र भीमदत्त नगरपालिका–१८ का ४७ वर्षीय पुरुषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । महिलाको आज बिहान ५ बजे र पुरुषको बिहान ८ बजे मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए ।
उनका अनुसार अस्पतालको इमरजेन्सी वार्डमा अक्सिजनको सहायतामा उपचार भइरहेकी ती महिलाको स्वास प्रस्वासमा समस्या देखिएको थियो भने मृतक पुरुषको सघन कक्षमा राखेर उपचार भईरहेको थियो ।
यस्तै कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । सेतीमा उपचाररत ती पुरुषको आज विहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।
यस्तै कञ्चनपुरपछि कैलालीमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ दिनको अवधिमा १८ जनाको मृत्यु भएकोमा आईतबार कैलालीका कोही पनि संक्रमितको मृत्यु नभएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
तराईका दुई जिल्लापछि अछाममा ३ जना संक्रमितको मृत्यु भएको छ । यसअघि दुई जनाको मृत्यु भएको अवस्थामा शनिबार राति थप एक जनाको मृत्यु भएको हो । अछाम जिल्लाको मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए ।
बैशाख १६ गते बयालपाटा अस्पतालमा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुस्टि भएको थियो । श्वास फेर्न समस्या भएको र कडा लक्षण देखिएपछि उनलाई जिल्ला अस्पतालको आइशोलेसन वार्डमा राखिएको थियो ।
यसैगरी डडेल्धुरामा २ जनाको मृत्यु भएको छ भने बैतडी, बझाङ र दार्चुलाका १÷१ जना संक्रमितले पनि ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८८ जनाको मुत्यु भईरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।