सुदूरपश्चिममा कोरोनाबाट ९ दिनमा ४९ जनाको मृत्यु
प्रदेशमा कोरोनाबाट ८९ जनाको ज्यान गयो 
2021/05/02, 7:15
 
aa

सुदूरपश्चिममा कोरोनाका कारण ९ दिनमा ४९ जनाको मृत्यु भएको छ । अघिल्लो शनिबारदेखि आईतबारसम्म ४९ जनाले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा वढी कैलाली र कञ्चनपुरका रहेका छन् । मृत्यु भएका धेरै जसोमा कडा खालको निमोनिया रहेको पाईएको छ । 

निर्देशनालयका अनुसार र कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी  २१÷२१ जनाको मृत्यु भएको छ । पछिल्लो ८ दिनको अवधिमा दुबै जिल्लामा १८ जनाको मृत्यु भएकोमा आईतबार थप तीन तीन जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।  कैलाली र कञ्चनपुरका ३÷३ जना र अछामका २ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । गत बैशाख १३ गते कोरोना पुस्टि भएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन ।

उपचारका क्रममा आइतबार दिउँसो २ बजेर ३० मिनेटमा संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । यस्तै धनगढीकै वडा नम्बर ३ की ३८ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार सेती प्रादेशिक अस्पतालको इसर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

कोरोना परिक्षण गर्दा शनिबार बिहान ११ बजे तिर उनको रिपोर्ट पोजेटिभ आएको थियो । शनिबार साँझ उनलाई कोरोना अस्पताल लैजाने क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमाराकी ४४ वर्षीया महिलाको पनि आइतबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ । कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार धनगढीको नवजीवन अस्पताल भर्ना भएकी थिइन । आईतबार उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो ।

उता कञ्चनपुरका थप ३ जना कोरोना संक्रमितको पनि ज्यान गुमाएका छन । भीमदत्त नगरपालिका–७ की ५५ वर्षीया महिला र भीमदत्त नगरपालिका –१८ का ४७ वर्षीय पुरुषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । महिलाको आइतबार बिहान ५ बजे र पुरुषको बिहान ८ बजे मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए ।

उनका अनुसार अस्पतालको इमरजेन्सी वार्डमा अक्सिजनको सहायतामा उपचार भइरहेकी ती महिलाको श्वास प्रश्वासमा समस्या देखिएको थियो भने मृतक पुरुषको सघन कक्षमा राखेर उपचार भईरहेको थियो । यस्तै आइतबार बिहान ६ बजे कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको पनि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै तराईका दुई जिल्लापछि अछाममा ४ जना संक्रमितको मृत्यु भएको छ । यसअघि दुई जनाको मृत्यु भएको अवस्थामा शनिबार राति थप एक जना र आईतबार थप एक जनाको मृत्यु भएको हो । अछामको मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए ।

बैशाख १६ गते बयालपाटा अस्पतालमा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुस्टि भएको थियो ।  श्वास फेर्न समस्या भएको र कडा लक्षण देखिएपछि उनलाई जिल्ला अस्पतालको आइशोलेसन वार्डमा राखिएको थियो ।  आइतबार अछामै जिल्ला अस्पतालमा उपचार गराइरहेका एक संक्रमितको ज्यान गएको छ ।

मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका ५० वर्षीका पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी जोशीले बताए । जोशीका अनुसार शनिबार श्वासप्रसाद लगायत स्वास्थ्य समस्या देखिएपछि उनलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणका क्रममा ती पुरुषमा कोरोना संक्रमण देखिएको जोशीले बताए ।

यसैगरी डडेल्धुरामा २ जनाको मृत्यु भएको छ भने बैतडी, बझाङ र दार्चुलाका १÷१ जना संक्रमितले पनि ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८९ जनाको मुत्यु भईरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा बढी संक्रमित रहेको र कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु भईरहेको कैलाली र कञ्चनपुरमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेवास्ता र चरम लापरवाही भईरहेको छ ।