बल्ल बन्दै आइसोलेसन
2021/05/06, 10:42
 
dd

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयको निरन्तर ताकेता र स्थानीयको दबाबपछि बझाङमा आइसोलेसन सेन्टर निर्माण हुन थालेका छन् । केही स्थानीय तहले आइसोलेसन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

केहीले एक/दुई दिनभित्र निर्माण पूरा गर्न लागेका छन् । १२ वटा स्थानीय तह रहेको बझाङका पाँचवटा पालिकाले भने अहिलेसम्म आइसोलेसन बनाउने सुरसार गरेका छैनन् ।

हालसम्म वित्थड चिर, खप्तडछान्ना, दुर्गाथली, तल्कोट गाउँपालिका र बुंगल नगरपालिकाले आइसोलेसन बनाएर सञ्चालनमा ल्याइसकेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । थलारा र केदारस्यूँ गाउँपालिकाले आइसोलेसन निर्माण गर्दैछन् ।

केही दिनभित्र सम्पन्न गर्ने जानकारी आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । हाल सञ्चालनमा रहेका धेरैजसो आइसोलेसनमा अक्सिजन र आवश्यक औषधिसहित चौबीसै घण्टा स्वास्थ्यकर्मी खटिने व्यवस्था गरिएको जोशीले बताए ।

जयपृथ्वी नगरपालिका, साइपाल, सुर्मा, छबिसपाथीभेरा र मस्टा गाउँपालिकाले भने हालसम्म महामारीलाई बेवास्ता गरिरहेको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । ‘महामारीले भयानक रूप लिन थालिसक्यो । अब थेग्न गाह्रो छ, भनेर पटकपटक अनुरोध गर्दा पनि उहाँहरूले कुनै वास्ता गर्नुभएको छैन’ जोशीले भने, ‘यस्तै हो भने उहाँहरूले गर्नुभएको लापरबाहीको मूल्य सिंगै जिल्लाले चुकाउनुपर्ने हुन सक्छ ।’

उनले संक्रमितहरूको निगरानी र सम्पर्क परीक्षणको काममा पनि स्थानीय तहले साथ नदिएको बताए । यता जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्रबहादुर खड्काले सदरमुकामको नगरपालिका भएको हुनाले आइसोलेसन सेन्टर निर्माणको लागि केन्द्रबाट बजेट नआएको र जिल्ला अस्पतालको आइसोलेसन नै प्रयोग गर्ने भएकोले नबनाएको बताए । ‘बरु हामीले परीक्षणलाई तीव्रता दिने भनेर ५ सय वटा भीटीएम किट खरिद गरेका छौं,’ उनले भने ।

भारत र देशका अन्य जिल्लाबाट आएकाहरू सोझै घर जान थालेकाले पछिल्लो समय संक्रमण समुदायमा फैलिन थालेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । भारतसँग जोडिएका तराईका नाकाहरूमा नेपाल आउनेहरूको परीक्षणको व्यवस्था गरिए पनि दार्चुलाका धार्चुला, बैतडीको झुलाघाट नाकाबाट आउनेहरू विनापरीक्षण जिल्ला भित्रिने गरेको उनको भनाइ छ ।

‘उतै परीक्षण गरेर पठाउनुपर्थ्यो या त उतै रोक्नुपर्थ्यो । नाकाका जिल्लाबाट सोझै पठाइदिन्छन्,’ उनले भने, ‘बझाङको सीमामा पुगिसकेकाहरूलाई हामीले पनि फर्काउन सक्ने अवस्था हुँदैन । यता पनि परीक्षण, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नहुँदा समुदायमा संक्रमण फैलन थाल्यो ।’ प्रजिअ अधिकारीले बाहिरी जिल्लाबाट आएकाहरूको परीक्षण र व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गर्ने काम भइरहेको बताए ।