सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशन जेठ १३ गतेदेखि शुक्रवार चल्यो । अधिवेशन प्रदेश सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेट भाषणमा नै केन्द्रित रह्यो । नीति तथा कार्यक्रम पनि शुक्रबार बहुमतले पारित भयो । आउने बजेट कोरोना भाईरस (कोभिड–१९) महामारीको वरिपरी घुम्यो । तर कोरोना रोकथाम तथा नियन्त्रणमा नै केन्द्रित रहेको अधिवेशनमा सासंदहरुले नै कोरोनाबाट बच्न अवलम्बन गरिने न्यूनतम मापदण्ड ‘भौतिक दूरी’ समेत कायम गरेनन् ।
विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिको भौतिक दूरी कम्तिमा पनि १ मिटर कायम गर्न भनेको छ तर सुदूरपश्चिम प्रदेश सभामा भौतिक दूरी कायम गरिएको छैन । १ मिटर बराबर ३.२ फिट हुन्छ तर प्रदेश सभामा २ फीट मात्रै भौतिक दूरी कायम छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डलाई जान्दा जान्दै पनि स्थान अभावका कारण दूरी कायम भएको छैन, यो कुरा स्वीकार गर्नुपर्छ हामीले । अर्कोतिर नेपालीहरूको घुलमिल हुने बानीले गर्दा पनि हो । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता कारण जोखिम मोलेर पनि अधिवेशनमा भाग लिएका छौं । हामी पनि अति जोखिममा छौं ।’
राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले नचाहेरै पनि त्रासैत्रासबीच अधिवेशनमा सहभागी हुँदै आएको बताए । ‘बजारको तरकारी, दूधलगायत अत्यावश्यक वस्तु प्रयोग गर्दा समेत डर मान्छु । म हिँडेरै प्रदेशसभा पुग्छु तर जब प्रदेश सभामा पुग्छु, त्यहाँ त झनै १ फीटको दूरीमै काने खुसी हुन्छ । निस्कँदा, पस्दा एक अर्काको सम्पर्कमा आउने गरिन्छ । के गर्ने बाध्यतावश प्रदेशसभा सदस्यहरू त्यहीँ, उनीहरूका सहयोगी सँगैै, मर्यादापालक, कर्मचारी, गाडी चालकको भीडै हुन्छ,’ उनले भने, ‘हामी ठूला–ठूला कुरा गर्नेहरू कोभिड १९ बाट बच्ने पहिलो सर्तको रुपमा रहेको भौतिक दूरी कायम गर्न सकिरहेका छैनौं ।’
नेकपाका प्रमुख सचेतक तारालामा तामाङले धेरै हदसम्म सावधानी अपनाउँदै आएको बताए । दूरी कायम नगरिए पनि आफ्नो आसन परिवर्तन नगर्ने, प्रत्येक दिन ज्वरो नाप्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्दै आएको उनले बताए । प्रदेश सभा सचिवालयले स्थान अभावका कारण दूरी कायम गर्न नसकेको स्वीकार गरेको छ । प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले साविक जिल्ला विकास समिति कैलालीको मौजुदा संरचनालाई प्रदेश सभा बनाइएको बताउँदै स्थान अभावका कारण र धनगढीमा उपलब्ध नभएपछि अरु सावधानी अपनाएर अधिवेशन सञ्चालन गरेको दाबी गरे ।