कोरोनाको त्रासमा छ सुदूरपश्चिम, कहाँ छन् भारतबाट फर्किएका डेढ लाख ? 
2020/06/06, 8:06
 
korona

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै कोरोना रोकथामबारे आफ्नो नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गरे । तर प्रधानमन्त्रीले भनेजस्तो तयारी भने सुदूरपश्चिममा देखिएको छैन । नेपालमा हालसम्म झण्डै २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये सुदूरपश्चिमका मात्रै ९२ छन् । सुस्त तयारी, जनशक्ति र स्वास्थ्य सामग्रीको अभावका कारण सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरु नै बताउँछन् ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सुदूरपश्चिमवासीमा त्यसको त्रास झनै थपिँदै गएको देखिन्छ ।  नौ जिल्ला रहेको प्रदेशका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुराको केही क्षेत्र भारतीय सीमासँग जोडिएको छ ।  भारतीय सीमासँग जोडिनु मात्रै चुनौती भने होइन । तर मजदुरीका लागि भारत गएर स्वदेश फर्किएका झन्डै दुई लाख बढी नेपालीबाट कोरोना भाइरस फैलिन सक्ने प्रदेशवासीको चिन्ता रहेको छ । भौगोलिक विकटताले पनि गर्दा पनि थप चुनौती हुन सक्ने बताइएको छ । कैलाली र कञ्चनपुर बाहेक अन्य ७ जिल्ला पहाडी जिल्ला हुन् । पहाडी जिल्लामा अस्पतालको अवस्था निकै कमजोर छ । सरकारले सुदूरपश्चिममा युद्धस्तरका परीक्षणलगायतको काम प्रभावकारी रुपमा नगर्ने हो भने जोखिम निकै बढ्ने सम्भावना रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

प्रत्येक जिल्लामा क्वारेनटाइन र केही मात्रामा आइसोलेटेड बेड भए पनि मेडिकल सामग्री र जनशक्तीको अभाव व्याप्त छ ।  त्यसै पनि सामान्य उपचारका लागि भारतीय सहरका अस्पतालमा जानुपर्ने बाध्यता सुदूरपश्चिमवासीसँग छ ।  सुदूरपश्चिममा रहेका दुई ठूला सरकारी अस्पताल भनेको सेती प्रादेशिक र महाकाली प्रादेशिक अस्पताल मात्रै हुन् । संरचनाका हिसाबमा यी अस्पताल ठूला भए पनि जनशक्ति र उपकरणको अभाव छ ।  पछिल्लो समय देशभर निजी अस्पतालले सामान्य उपचार पनि कोरोना संक्रमणको आशंकामा गर्न छाडे पनि सरकारीमा त्यसको प्रभाव परेको छ ।  कोरोनाभाइरसको संक्रमण देखिए आइसोलेसनमा राख्ने गरिएको छ । यस्तो अवस्थामा आईसीयूको पनि आवश्यकता पर्न सक्छ । तर सुदूरपश्चिमभर एउटामात्रै सरकारी आईसीयू बेड छ सेती प्रादेशिक अस्पतालमा । 

सुदूरपश्चिमका अन्य ८ वटा जिल्लामा रहेका कुनै पनि सरकारी अस्पतालमा आईसीयू बेड छैन ।  यस्तो अवस्थामा एकै पटक एकभन्दा बढी व्यक्तिलाई आईसीयूमा राख्नुपरे त्यसको व्यवस्था छैन ।  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा सेती प्रादेशिक अस्पतालमा पाँच वटा आईसीयू कक्ष रहेको बताउँछन् । कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराका अनुसार कोरोना परीक्षण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण धनगढी पुगेर परिक्षण भईरहेको छ । कम सङख्यामा परीक्षण हुन थालेपछि बढि क्षमताका उपकरण ल्याएर एक दिनमा दुई सयदेखि ढाई सयसम्मका नमुना परीक्षण गर्न सकिने उपकरण धनगढी स्थित प्रयोगशालामा छ । 

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई भेटनरीको प्रयोगशालामा स्थापना गरी परिक्षण भईरहेको छ । तर स्वाब संकलनको नमुना जाँभ गर्न झण्डै ११०० बाँकी । हाललाई ५ दिनका लागि स्वाब संकलनको काम पनि रोकिएको छ । प्रदेश सरकारले वैतडी र डोटीमा निर्माण गर्ने भनेका प्रयोगशाला निर्णय गरेको ढाई महिना पुग्दा पनि स्थापना हुन सकेका छैनन् । नेपालले कोरोनाको सतकर्ता अपनाएसँगै कैलाली कञ्चनपुर वैतडी र दार्चुलाका नाकाहरुबाट झण्डै डेढ लाख मानिस भित्र्रिएका छन । उनीहरु क्वारेनटाइनमा बसे नबसेको अन्योल छ । 

सरकारकै दाबीलाई आधार मान्ने हो भने फागुन २३ गतेबाट चैत १० गतेसम्म एक लाख ४३ हजार नेपाली भारतबाट स्वदेश भित्रिएका छन् ।  उनीहरु कहाँ छन् त्यसको स्पष्ट जानकारी प्रशासनसँग छैन । सुदूरका नाका भएर फर्किनेमा कोही कर्णाली प्रदेशका पनि थिए । तर अधिकांश भने सुदूरपश्चिम प्रदेशकै भएको सरकारी अधिकारी बताउँछन् । लकडाउनकै समयमा पनि झण्डै ६० हजारभन्दा वढी नेपालीहरु घर फर्किएका छन् । लकडाउन अघि र लकडाउनपछि आएकाहरु गरी दुई लाख वढी नेपालीहरु घर फर्किएका छन् । लकडाउनको समयमा घर फर्किएकाहरुमा कोरोनाको संक्रमण उच्च पाईएको छ ।

लकडाउनको समयमा ल्याइएका नेपालीहरुमा गरिएको कोरोना परिक्षणमा अत्याधिक कोरोना संक्रमण पुष्टि भएको छ । चैत १४ गतेदेखि वैशाख १ गतेसम्म सुदुरपश्चिममा ५ जना संक्रमित रहेकोमा जेठका तीन सातामा मात्रै संक्रमितको संख्या ९२ पुगेको छ । उनीहरुमा केही वाहेक प्रायः सबै भारतबाटै आएका हुन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार हाल ६० हजार मानिस क्वारेन्टाईनमा वसेको तथ्यांक छ । तर लकडाउन अघि आएका डेढ लाख मानिसहरुको कुनै लेखा जोखा छैन । 

उनीहरु क्वारेनटाइनमा बसिरहेका छन् वा गाउँघरमा निर्वाध घुमिरहेका छन् सरकारी अधिकारी नै भन्न सक्ने अवस्थामा देखिँदैनन् ।  यस्तोमा एक जनामा पनि कोरोना संक्रमण भएको भए एकै पटक सयौँ व्यक्ति संक्रमित हुन सक्ने जोखिम छ ।  १ लाख ४३ हजार नेपाल भित्रिँदा कसैलाई पनि अनिवार्य क्वारेनटाइनमा राखिएन । लकडाउनमा भित्रिएका ६० हजार बढी मध्ये दुई हजारलाई मात्रै स्मिा नाकामा कोरोना परिक्षण गरेर पठाईएको छ भने बाँकी कोरोना परिक्षण बिना भित्र्रिएका छन् । त्यही कमजोरी सुदूरपश्चिम र देशकै लागि महंगो पर्न सक्ने सरोकारवालाको चिन्ता छ ।