अक्सिजनका खाली सिलिन्डर बझाङ पुगे
2021/05/19, 9:38
 
dd

सरकारी संयन्त्रले होइन, सांसदहरूले आ–आफ्नो पहुँचको आधारमा सिलिन्डर बोकेर हिँड्दा के फरक पर्छ भन्ने उदाहरण बझाङमा देखिएको छ । सांसद आशा विकले काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्‍याएका सिलिन्डर खाली भेटिएका छन् । अब फेरि सिलिन्डर भर्न गाडीबाट ढुवानी गरेर नेपालगन्ज पुर्‍याउने तयारी छ । 

कोभिड महामारीले जिल्लामा अक्सिजन अभाव भइरहेका वेला सांसद विकले आफ्नो जिल्लामा सात सिलिन्डर पठाएकी थिइन् । तर, पर्याप्त समन्वय नभएकाले सिलिन्डर भर्दै नभरी जिल्ला पुर्‍याइएको हो । ‘चीन सरकारले अनुदान दिएका चार सय सिलिन्डरहरूमध्ये दाङ जिल्लाकी सांसद गंगा चौधरी र मैले सात–सात थान खाली सिलिन्डर बुझेका हौँ ।

मैले जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडासँग परामर्श गरी सिलिन्डर जिल्लामा पठाएकी हुँ,’ सांसद आशा विकले भनिन् । जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले पनि सांसद विक र आफूबीच टेलिफोनमा संवाद भएपछि खाली सिलिन्डर भए पनि जिल्लामा पठाउन आग्रह गरेको बताएका छन् ।

उनले भने, ‘सिलिन्डर आएका छन् । अब एक–दुई दिनमै भर्नका लागि नेपालगन्ज पठाउने तयारी छ ।’ यसरी काठमाडौंबाट नेपालगन्ज हुँदै ४८ घन्टापछि बझाङ पुगेका सिलिन्डर फेरि एक दिनको बाटो गाडीमा ढुवानी गरेर नेपालगन्ज पठाउन थालिएको छ । 

जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण भइरहेकोमा करिब ३० प्रतिशतमा रिपोर्ट पजिटिभ आउने गरेको छ । जिल्लामा महामारी अझै फैलिन सक्ने र अक्सिजन अभाव हुन सक्ने स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले बताए ।

‘जिल्लामा हालसम्म तीन हजार ३४ जनामा परीक्षण गर्दा एक हजार दुईजनाको रिपोर्ट पजिटिभ आएको छ । १५ जनाको ज्यान गएको छ । अहिले आठ सय ८४ जना सक्रिय संक्रमित छन्,’ उनले भने ।