सुदुरपश्चिमको कैलाली र बाजुरामा कोरोनाले एक हप्तामा मृत्यु, दुवैमा मृत्युपछि संक्रमण पुष्टि
2020/06/06, 6:25
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसले एक हप्तामा दुई जनाको मृत्यु भएको छ । बाजुरा र कैलालीमा गरी एक सातामा दुई जनाको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी कैलालीकी एक महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि मृतकको सङख्या दुई पुगेको हो । 

शुक्रबार अस्पतालको डायलासिस वार्डमा ज्यान गुमाएकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन । डायलासिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा उनमा कोरोना पुष्टि भएको हो । 

यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो। भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो। मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बाजुरा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।