सुदुरपश्चिममा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका ६ जनाको मृत्यु, तीन जनाको कोरोना नेगेटिभ तीन जनाको जाँच बाँकी 
2020/06/07, 7:39
 
death

सुदुरपश्चिममा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका ६ जनाको मृत्यु भएको छ । पछिल्लो एक साताको अवधिमा चार जिल्लामा ६ जना भारतबाट फर्किएर वसेकाहरुको मृत्यु भएको हो । उनीहरुमध्ये तीन जनाको कोरोना जाँच भएकोमा तीन जनाको रिर्पोट नेगेटिभ आएको छ । तीन जनाको भने कोरोना परिक्षण बाँकी रहेको छ । 
आईतबार विहान डोटीमा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीमा एक हप्ता अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको हो । उनको आईतबार बिहान सिताराम आधारभुत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ती सुर्यबहादुर विष्टले बताए । युवक ७ दिन पहिले भारतको लुधियानाबाट आएका थिए । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाउने तयारी भईरहेको छ । 

बैतडीमा शुक्रवार भारतबाट फर्किएका एक जनाको बैतडीको क्वारेन्टिनमा मृत्यु भएको छ । पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नम्बर ६ कै भारतबाट शनिवार आएका ३१ बर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जानकारी दिएको छ ।  मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी ल्याइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । ज्यान गुमाएका पुरुष  शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका थिए।

उनीसंगै बेंगलोरबाट थप १३ जना पनि आज बिहानै पाटन पुगेका छन् । उनीहरुलाई पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा राखिएको छ । बैतडीमा यसअघि पनि क्वारेन्टिनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए । मृतक लुहार मुटु रोगको बिरामी रहेकी थिईन् । मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी थिईन । उनको भने कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा पनि एक वृद्धको मृत्यु भएको छ । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका थिए । वृद्धसँगै अन्य सात जना आएका पनि क्वारेन्टिनमा नै बसिरहेका छन । उनीहरुको टोली भारतको हिमाञ्चल प्रदेश हुँदै नेपाल प्रवेश गरेको हो । पिसिआर जाँचपछि आएको रिपोर्टका आधारमा थप प्रक्रिया अगाडि बढाउने सहमति भएको खप्तड छेडेदह– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । हाल खप्तड छेडेदहमा ६ सय बढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन । क्वारेन्टिनमा अधिकांश भारतबाट आएका मात्र बसिरहेका छन् ।  शनिवार मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । गैरे नेतृत्वमा गएको जिल्लाको टोलीले धेरै दिन शव राख्दा गन्हाउने र थप दुर्गन्ध फैलिने भएकाले दमको रोगी भएको भन्ने स्वास्थ्यकर्मीको जानकारीमा भएकाले शवलाई व्यवस्थापन संयन्त्रकै सक्रियतामा व्यवस्थापन गरिएको हो । 

डडेल्धुरामा पनि भारतबाट फर्किएकी महिला र एक बालकको मृत्यु भएको छ । डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । जेठ १८ गते कैलालीको त्रिनगर नाका भएर फर्किएकी महिलाको मृत्यु भएको बताईन । श्रीमानसँगै शौचालय गएकी उनी एक्कासी बेहोस भएपछि मृत्यु भएको गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले बताईन् । उनको कोरोना रिर्पोट पनि नेगेटिभ आएको छ ।

डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । आमा बुबासँगै भारतको मुम्बईबाट शनिबार  मात्र फर्किएर क्वारेन्टाईनमा बसेका बालकको मृत्यु भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बितिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुगाउनु अघि नै मृत्यु भईसकेको जानकारी दिए । परिवारका अनुसार बालकलाई मलेरिया रोग लागेको थियो । कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।