बझाङमा ७२ प्रतिशत संक्रमित निको, संक्रमण दर घटेन
2021/05/28, 10:08
 
dd

वैशाख अन्तिम सातादेखि जिल्लामा व्यापक रूपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितमध्ये ७२ प्रतिशत संक्रमणमुक्त भएका छन् । 

 

वैशाखयता संक्रमण देखिएका १ हजार ३७६ जनामध्ये ९ सय ८९ जना कोरोनामुक्त भएर फर्किएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । बिहीबार मात्रै जिल्ला अस्पताल र पालिकाका विभिन्न आइसोलेसनबाट ३ सय ८० जना कोरोना जितेर घर फर्किएका छन् ।

‘सुरुसुरुमा लक्षणसहितका बिरामीले अस्पताल र आइसोलेसन भरिएका थिए । यही गतिमा संक्रमण बढ्दै गयो भने धान्न सकिँदैन कि जस्तो लागेको थियो,’ जोशीले भने, ‘अहिले निको हुनेको संख्या बढ्न थालेको छ । अहिले बढीजसो लक्षणरहित र सामान्य लक्षण भएकाहरू छन् ।’ उनले अहिले प्रायःजसो पालिकाहरूले पनि अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेकाले जिल्ला अस्पतालमा हुने बिरामीको चाप पनि घटेको बताए ।

संक्रमण दर घटेन

निको हुनेहरूको संख्या बढे पनि संक्रमण दर भने नघटेकोले महामारीविरुद्ध जुध्न उच्च सावधानी अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । अहिले पनि दैनिकजसो ५० जना हाराहारीमा संक्रमित थपिने क्रम जारी रहेको र संक्रमण व्यापक रूपमा फैलिरहेकाले सबैले सचेत हुनु जरुरी रहेको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए ।

‘संक्रमणमुक्त हुने दर बढे पनि संक्रमित हुने दर नघटेकाले जोखिम कायमै छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा अझै पनि यसलाई गम्भीर रूपले नलिने, भीडभाड गर्ने भैरहेकोले संक्रमण भुसको आगोजस्तै सल्किरहेको छ ।’ उनले कोरोना संक्रमित र उनीहरूका परिवारले संक्रमणलाई गम्भीर रूपमा लिएको भए पनि अरूले लापरबाही गरिरहेकाले जिल्लामा उच्च जोखिम कामय रहेको बताए ।

बिहीबार मात्रै बझाङमा ४६ जना संक्रमित थपिएका छन । हाल रहेका ३ सय ७० जना सक्रिय संक्रमितमध्ये ३ सय ५६ जना होम आइसोलेसनमा छन् भने १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ७ जनालाई अक्सिजन सहितको आइसोलेसन र एक जनालाई आईसीयूमा राखेर उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।