मृत्युस्थल बन्दै सुदूरपश्चिमका क्वारेन्टिन, सुदुरपश्चिममा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका ७ जनाको मृत्यु, किन हुन्छ क्वारेन्टिनमा मृत्यु ?
2020/06/07, 10:42
 
korona

१८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । उनी बाबु आमासँगै भारतबाट आएकी थिइन् । त्यसयता सात दिनमा सुदूरपश्चिम प्रदेशका बिभिन्न क्वारेन्टिनमा रहेका अन्य ६ जनाको पनि मृत्यु भइसकेको छ । तर, बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । मृतकमध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी ४ कि ५५ वर्षीया महिला भने क्वारेन्टिनमा थिइनन् । त्यसबाहेक बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टिनमा २र२ जना र डोटीको क्वारेन्टिनमा १ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलो संक्रमितको मृत्यु भएकै जिल्ला बाजुरामा शनिबार थप एक जना वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्धको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

डडेल्धुराको क्वारेन्टिनमा पनि २ जनाको मृत्यु भएको छ । २१ जेठमा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो । उनी श्रीमान् सहित १६ गते भारतबाट आएकी थिइन् । त्यसअघि १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भयो । आमा–बाबुसँगै ती बालक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए ।

शनिबार साँझ बैतडीको पाटन नगरपालिका ६ स्थित  क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको मृत्यु  भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह महराले जानकारी दिए । मृतक पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट क्वारेन्टिनमा बसेका थिए ।यसअघि २० जेठमा पनि बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो ।

आइतबार बिहान डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ ।

किन हुन्छ क्वारेन्टिनमा मृत्यु ?

पछिल्लो एक सातामा ३ जिल्लामा रहेको क्वारेन्टिनमा ७ जनाको मृत्यु भइसकेको छ । उनीहरु सबै भारतका बिभिन्न क्षेत्रबाट आएर क्वारेन्टिनमा बसेका थिए । तर, तीमध्ये बाजुराकी ३ वर्षीया बालिकाबाहेक अन्यमा कोरोना संक्रमण पुष्टि भएको छैन । त्यसो भए उनीहरुको मृत्युको कारण के हो त ? सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन तथा अस्थायी कोरोना अस्पतालका प्रमुख डा.निराजन दत्त शर्माले क्वारेन्टिनहरुमा दीर्घ रोगीहरुको हेरचाह राम्रो नहुँदा मृत्युदर बढ्न सक्ने बताउँछन्

‘धेरैमा पहिलेदेखि कै समस्या देखिएको छ,’ उनले भने, ‘प्रेसर, सुगर, एलर्जी, दम, बाथ आदि रोगका बिरामीहरुलाई हेरचाह र खानपिन राम्रो नहुँदा पनि मृत्यु भएको हुन सक्छ ।’ उपयुक्त स्थानमा व्यवस्थित क्वारेन्टिन नहुँदा पनि रोगसँग लड्न सक्ने क्षमता कम भएकाहरु व्यक्तिहरुको मृत्यु हुन सक्ने उनी बताउँछन् । ‘वातावरण ओसिलो भएको ठाउँमा दमका रोगी बसे भने एक्कासी समस्या हुन सक्छ,’ उनले भने, ‘क्वारेन्टिनमा रहेकाहरुमध्ये केही दम र प्रेसर बढेकै कारण मृत्यु भएको पनि सुनेको छु ।’

स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्र भने उनीहरुको मृत्युबारे अध्यन नगरी भन्न नसकिने बताउँछन् । ‘मृत्युका थुप्रै कारणहरु हुन सक्छन्,’ उनले भने, ‘त्यस विषयमा सहजै भन्न सकिने अवस्था रहन्न ।’ क्वारेन्टिनमा बस्नेहरुलाई बढी तनाब र त्रास हुने भएका कारण पनि मृत्यु दर बढेको हुन सक्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्मीले बताए । ‘मान्छे मर्दै मर्दैन भन्ने होइन । सबै मृत्युलाई कोरोनासँग जोड्न पनि हुँदैन,’ उनले भने, ‘क्वारेन्टिनमा बस्नु भन्दा आत्महत्या गर्न ठिक भन्दै नदीमा हामफालेको घटना पनि सुनेको छु । त्यसैले अनावश्यक भय, डर र त्रासले पनि समस्या सृजना गरेको छ ।’

क्वारेन्टिन पनि पूर्ण व्यवस्थित नभएको उनको भनाइ छ । ‘क्वारेन्टिन व्यवस्थापनको जिम्मा संघीय सरकारले स्थानीय तहको सरकारलाई दिएको छ,’ उनले भने, ‘हाम्रो  त समन्वयकारी भूमिका मात्रै हो ।’ पछिल्लो समय क्वारेन्टिनमा बसेकाहरुको मृत्युको कारणबारे जिल्लामा छानबिन गर्न पहल भइरहेको समेत उनले जानकारी दिए ।