भयका बीच सुदूरपश्चिम प्रदेशमा बजेटको तयारी
2021/05/28, 11:11
 
dd

भयका बीच सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷०७९ का लागि बजेटको तयारी गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले झण्डै २८ अर्बको बजेट ल्याउने तयारी गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष ०७७÷७८ का लागि ३३ अर्बको बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र बोहराले प्रि–बजेट छलफल सुरु भइसकेको जानकारी दिए । ‘आगामी आर्थिक बर्षको बजेट असार १ गते प्रदेशसभामा प्रस्तुत गर्नका लागि विभिन्न राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थाहरुसंग छलफल भइरहेको छ ।’ उनले भने ।

झपट बोहराले गत पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएपछि मन्त्रालय मन्त्री विहिन थियो । वैशाखमा मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाहलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । तर सोमवार एमाले स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि वर्तमान सरकार पनि संकटमा छ ।

यद्यपी बुधवार बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ । तर एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीमा कारवाहीको भय छ भने त्यस्ले बजेट पनि प्रभावित हुने देखिएको छ । सरकारले अहिलेसम्म बजेट अधिवेशन आह्वानको निर्णय गर्न सकेको छैन् ।