महाकालीपूर्वको भूमि फिर्ता ल्याउन समय लाग्छ : ओली
2021/05/28, 2:40
 
11

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकालीपूर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियाका संवाददाताहरूसँग अन्तरक्रिया गर्दै उनले वर्षौदेखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्‍ने बताएका हुन् ।

उनले महाकाली नदी पूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख गर्दै ती भुभाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताए ।

उनले भने 'महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपूर्वको भनौँ । महाकाली पूर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ र त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ तर यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन । मैले भने ५८ वर्षदेखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौँ । त्यसमा संवाद गरिरहेका छौँ ।'