बजेट चुनावमुखी र मन्त्र पढे जस्तो: व्यवसायी
2021/05/31, 10:36
 
2

सुदूरपश्चिमका उद्यमी, व्यवसायीलगायत आर्थिक क्षेत्रका सरोकारवालाले संघीय सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई मतदाता रिझाउने चुनावमुखी बजेटको संज्ञा दिएका छन् ।

उनीहरूले कोरोनाले थला परेका उद्योग व्यवसाय र प्रभावित व्यवसायीका लागि बजेटमा ठोस कार्यक्रम नभएको गुनासो गरेका छन् । कोरोना महामारी रोकथामका लागि बजेट स्वास्थ्यमुखी भएको देखाउन खोजे पनि कार्यान्वनबाट उपलब्धि देखिने उनीहरूले बताए । समग्रमा बजेटले सबै क्षेत्रलाई समेट्न चाहे पनि बजेट वितरणमुखी भएकाले लक्ष्य हासिल गर्न चुनौतिपूर्ण रहेको उनीहरूको प्रतिक्रिया छ ।

सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा उद्यमी गोपाल हमालले अधिकांश योजनामा रकम नतोकेर यथोचित, पर्याप्त रकमको प्रबन्ध गरेको छु, व्यवस्था मिलाइने छ र विनियोजन गरेको छु जस्ता शब्दावलीका मन्त्रहरू मात्रै बजेट वक्तव्यमा आएको बताए । ‘मन्त्र पढेका योजनाहरू तत्काललाई खुसी पार्ने खालमा मात्रै हुन्छन्,’ उनले भने, ‘कार्यान्वयनमा लैजाने बेलामा कतैबाट पनि रकमको प्रबन्ध, व्यवस्था र विनियोजन भएको हालसम्म पाइएको छैन ।’

उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य हमालले बजेटमा अधिकांश कार्यक्रम मतदाता रिझाउने खालको मात्रै भएको बताए । ‘जता आफ्नो भोट बैंक छ त्यतै बढी योजना परेका छन्,’ उनले भने, ‘बजेट मतदातालाई प्रभावित पार्ने खालको वितरणमुखी छ ।’ हमालले स्वास्थ्य क्षेत्रमा जति रकम विनियोजन गरेर स्वास्थ्य सेवालाई सुदृढ गर्न सकिन्थ्यो, त्यति रकम विनियोजन गर्न नसकेको बताए । ‘कोभिड महामारी नियन्त्रणका लागि बजेटले प्राथमिकता दिएको छ,’ उनले भने, ‘तर स्वास्थ्य क्षेत्रका संयन्त्रहरूको विकासमा जति रकम आवश्यक छ, त्यति विनियोजित भएको देखिँदैन ।’ उनले संसद् विकास कोष कटौती, विद्युतीय साधन र सेवालाई बढावा दिने कुरा बजेटमा राम्रो पक्ष भएको बताए ।

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले कोभिड १९ को महामारीको नियन्त्रण र खोपलाई प्राथमिकतामा राखेर ल्याएको बजेट कार्यान्वयनमा लैजान त्यति निराशाजनक नभएको बताए । ‘अहिले हामी निजी क्षेत्रको पनि बजेट स्वास्थ्यमुखी र कोभिड १९ संँग लड्न सक्ने नै होस भन्ने थियो,’ उनले भने, ‘अब कार्यान्वयनमा लगेर जित्न सके राम्रो भन्न सकिन्छ ।’

उनले सुदूरपश्चिमको भूगोलका हिसाबले योजनामा परेको रकम त्यति सन्तोषजनक नभएको बताए । कैयौं योजनामा रकम नतोकेर सम्बोधन मात्रै गरेको उनको भनाइ छ । ‘बजेट आफैंमा राम्रो भए पनि कार्यान्वयन पक्ष कस्तो हुन्छ त्यसले नतिजा दिने हो,’ उनले भने, ‘नेपालमा सधैं समस्या कार्यान्वयनमै हो ।’

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले सरकारले भिजनरी र महत्त्वाकांक्षी खालका योजनाहरू समेटर ल्याएको बजेट सुन्दा राम्रो लागेको बताए । ‘सेतीको पानी कैलाली पुगाउने, सुरुङ मार्ग, पूर्वपश्चिम रेलवेलगायत महत्त्वाकांक्षी योजना सुन्दा राम्रो बजेट हो,’ उनले भने, ‘तर ती भिजनरी योजनामा हावा भरिएको जस्तो पनि लाग्छ ।’ उनले पनि बजेटको ठूलो हिस्सा चुनावलाई प्रभावित पार्ने र वितरणमुखी मात्रै भएको बताए ।

कञ्चनपुरका व्यवसायीले बजेटले सबै क्षेत्रलाई समेट्न खोजे पनि लामो समयदेखि कोभिड १९ ले प्रभावित भएको उद्योग व्यवसायले उकास्ने खालको योजनाहरू आउन नसकेको बताएका छन् । ‘सामाजिक क्षेत्रमा धेरै योजनाहरू आएका छन्, तर उद्योग व्यवसायमा खासै योजना देखिएन,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘बजेट व्यवसायमुखीभन्दा पनि चुनावमुखी देखियो ।’ कोरोनाका कारण झन्डै डेढ वर्षदेखि प्रभावित भएका उद्योगी व्यवसायीलाई बजेटले राम्ररी समेट्न नसकेको उनले बताए । अध्यक्ष मल्लले बजेटमा केही नयाँ योजनाहरू पनि समावेश भएकाले तिनको कार्यान्वयन महत्त्वपूर्ण हुने उल्लेख गरे ।