एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीले अन्तिम समयमा ओलम्पिक जानबाट बञ्चित हुनु बिडम्बनापूर्ण भएको बताएका छन् । पार्कीले कसैलाई दोष दिने अवस्था नभएपनि आन्तरिक रुपमा केही गलत भएको बताए ।
‘अवस्था शब्दमा बयान गरि साध्य छैन । खासमा कहाँ नेर चुक्यो भन्ने थाहा भएन । केही गलत भएको छ । प्रत्यक्ष कसैलाई केही भन्ने अवस्था छैन ।’ उनले भने ।
उनले एथलेटिक्सको ईतिहासमा यस्तो पहिलो पटक भएको उल्लेख गर्दै ओलम्पिक खेल्न बञ्चित हुने घटनाले आफुलाई एकदम दुखी बनाएको बताए ।
‘मुख्य प्राविधिक समस्या जस्तो देखियो । अन्तिममा आएर म्याराथनमा कोटा नभएको भन्ने छ । कसैलाई दोष दिने काम छैन । भाग्यमा रहेनछ भन्ने लागेको छ ।’ उनले भने ।
म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेको भन्दै प्रतियोगिताको संघारमा आएर नेपालबाट म्याराथन नभएर एथलेटिक्सको महिला विधाको सय मिटरमा सरस्वती चौधरीको नाम सिफारिस गरिएको छ ।
ओलम्पिकका लागि भन्दै करिब डेढ वर्षदेखि मेहनत गरिरहेका पार्कीको अन्तिम समयमा आएर नाम सूचिबाट निकालिएको हो ।
‘अन्तिममा उड्ने बेला रद्ध भएको खबर आयो । यो पिडा शब्दमा बयान गरि साध्य छैन । केही बोल्नु भनेको आफैलाई दोषी बनाउनु हो । चोट कोट्याउनु हो ।’ उनले भने, ‘मैले भोग, अरु खेलाडीले भोग्न नपरोस भन्ने लाग्छ ।’
उनले ओलम्पियन बन्ने सपना रहेपनि भाग्यले आफुलाई अन्तिममा ठगेको बताए । उनले प्रतियोगिताका लागि निकै मेहनत गरेपनि कर्म अनुसारको फल नपाएको दुखेसो पोखे ।
‘युनिभर्सल कोटामा नाम काटिएको छ । अब छनोटै चरण पार गरेर जाउँला भन्नेछ । अब ओलम्पिकमा छनोट हुने कोशिश गर्नेछु । सास रहुन्जेल आश गर्छु ।’ उनले भने ।
उनले चाँडैनै म्याराथुनमा बैकुण्ठ मानन्धरले कायम राखेको राष्ट्रिय रेकर्ड आफुले भंग गर्ने बताए ।
‘कुनै गाह्रो थिएन । ओलम्पिकमा त्यो तोडिने थियो । तर केही छैन, दुई चार महिना लम्बिएको छ । त्यो रेकर्ड चाँडै तोड्नेछु ।’ पार्कीले भने ।