‘टेस्ट क्रिकेटको जर्सीमा देख्ने सपना अधुरो रह्यो’
2021/08/03, 10:38
 
dd

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । उनले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

लामो समय नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याएका उनले समर्थकबाट धेरै माया पाए । समर्थकको मन जित्न सफल भए । प्रदर्शको हिसाबले पनि उनी उत्कृष्ट साबित भए । सन् २००४ मा मलेसियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका पारसको कप्तानीमा नेपाली टोलीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो ।

उनको सन्न्यासको विषयलाई लिएर समर्थकहरुले अझै केही समय राष्ट्रिय टोलीबाट खेलेको देख्न पाउने सपना पूरा नभएको बताएका छन् । धेरै समर्थकले उनलाई सन्न्यास लिने समय अझै नभएका कारण सन्न्यास फिर्ता लिन पनि अनुरोध गरेका छन् । पारसले ०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । नेपाली क्रिकेट आईसीसीको निलम्बनबाट फुकुवा भएको भोलिपल्ट नै उनले कप्तानबाट राजीनामा दिएका थिए । उक्त राजीनामापछि पनि समर्थकहरुले पारसलाई राजीनामा फिर्ता गर्न अनुरोध गरेका थिए ।

समर्थक जितेन्द्र दाहालले लेखेका छन्, “हजुरले नेपाली क्रिकेटलाई एक दिन टेस्ट क्रिकेट खेलाएर मात्र सन्न्यास लिनेछु भन्ने वाचा गर्नुभएको थियो । तपाईंलाई टेस्ट जर्सीमा देख्ने सपना अधुरो रह्यो ।” सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गर्दै पारस नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका थिए । सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरेका पारसले नेपाली क्रिकेटमा राम्रो लय लिए ।

पारस २००९ मा कप्तान बन्दा नेपाल डिभिजन ५ मा थियो । त्यसपछि एक वर्षको अवधिसम्म नेपाली क्रिकेटमा खासै उल्लेख्य प्रगति देखिएन । उनी कप्तान भएको एक वर्षपछि नेपाली क्रिकेटले क्रमशः फड्को मार्दै २०१४ मा टी–ट्वान्टी विश्वकपसम्मको यात्रा तय गर्‍यो ।

पारसको सन्न्यासको विषयमा चितवन क्रिकेट टिमले विश्वकप क्रिकेट खेलेकोे हेर्ने चाहना भएको जनाएको छ । चितवन टिमले ट्विट गर्दै सन्न्यास फिर्ता लिन आग्रह गरेको छ । “हजुरले अझै धेरै खेल खेल्न बाँकी छ । हामीजस्ता क्रिकेटप्रेमी र समर्थकको एउटै आशा निभेको छ । खेल जीवनको अन्त्य हुन्छ यो स्वाभाविक हो । तर, यति छिटो अन्त्यको अपेक्षा गरिएको थिएन । हजुरले विश्वकप क्रिकेट खेलेको हेर्ने चाहना छ,” चितवन क्रिकेट टिमले भनेको छ ।

पारस नेपाली क्रिकेटका लागि सबैभन्दा सफल कप्तान मात्र होइनन्, सबैभन्दा सफल खेलाडी पनि हुन् । उनी राष्ट्रिय टोलीका भरपर्दा अलराउन्डर र मिडियम फास्ट बलर तथा अफ स्पिन बलर पनि हुन् । यद्यपि, पछिल्लो समय उनले बलिङ कम गर्ने गरेका थिए । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको लामो समय भइसक्यो । तर, ठूलो सफलता भने उनकै कप्तानीमा हासिल गर्‍यो । १२ वर्षअघि पारसले कप्तानी सम्हाल्दा डिभिजन ५ मा रहेको टोली अहिले एकदिवसीय क्रिकेट खेल्ने राष्ट्र बनिसकेको छ ।

पारसको सन्न्यासले नेपाली क्रिकेट र क्रिकेट विकासमा ठूलो असर पर्ने समर्थकहरुले बताएका छन् । समर्थक सुरक्षा खनालले ट्विट गर्दै भनेकी छन्, “नेपाली क्रिकेटका लागि पारस बलियो खम्बाको रुपमा रहेका छन् । क्रिकेटमा अहिले धेरै कुरा गर्न बाँकी छ । पारसको यो छिटो सन्न्यासले नेपाली क्रिकेटलाई असर पर्नेछ ।”

नेपालले सन् २०१३ को नोभेम्बरमा सम्पन्न खेलमा हङकङलाई अन्तिम बलमा पराजित गर्दै आईसीसी विश्व टी–ट्वान्टीमा स्थान बनाएको थियो । त्यसयता नेपाली टोलीको सबैभन्दा भरपर्दा खेलाडीको रुपमा खेल्दै आएका पारसले टी–ट्वान्टी क्रिकेटमा शतक बनाउने एक्लो नेपाली खेलाडीको रुपमा आफूलाई स्थापित गरेका छन् ।

पारसकै कप्तानीमा नेपालले विश्वकप खेल्नेदेखि एकदिवसीय मान्यतासम्म प्राप्त गरेको थियो । पारसले नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । क्रिकेट समर्थक बन्दना अधिकारीले पारसको सन्न्यास छिटो भएको भन्दै केही समय नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पुर्‍याउन उनको भूमिका आवश्यक भएको बताएकी छन् ।

“नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिले क्रिकेटबाट सन्न्यास लिँदा नरमाइलो लाग्ने रहेछ । यो सन्न्यास अलि छिटो भयो,” उनले लेखेकी छन् । पारसले गत वर्ष फागुनमा थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टी प्रतियोगिता खेलेका थिए । नेपालका लागि यू–१७, यू–१९ हुँदै २००४ मा पारसले मलेसियाविरुद्ध डेब्यु गरेका थिए ।

पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । नेपालले सन् २०१८ मा पहिलोपटक ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । पारसले नेपाललाई पहिलोपटक २०१० मा डिभिजन–५ को उपाधि जिताएका थिए । उनको कप्तानीमा नेपालले डिभिजन–५ देखि ३ सम्म उपाधि जितेको छ ।